घाइते भेट्दा प्रधानमन्त्री भाभुक

प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुरमा एम्बुसमा परी घाइते भएकाहरूलाई भेटेर सान्त्वना दिएका छन् । बुधबार एम्बुस विष्फोटमा परी गम्भीर घाइते कांग्रेस नेता तथा प्रतिनिधिसभा उम्मेदवार नारायणबहादुर कार्की र विद्यार्थी नेतृ मीरा कटुवाललाई काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उदयपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार रहेका कार्की र कटुवालको अवस्था अहिले खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बिहीबार घाइतेहरूलाई भेटेर सान्त्वना दिएका हुन् । उनले उपचारमा कुनै कमी नगर्न अस्पताललाई निर्देशन दिएका छन् । देउवाको हात समाउँदै एम्बुस विस्फोटमा एउटा खुट्टाको घुँडामुनीको भाग गुमाएकी कटुवालले गहभरी आँशु पारेपछि प्रधानमन्त्री देउवा पनि भावुक बनेका थिए । उनले दोषीले कुनै हालतमा उन्मुक्ति नपाउने बताए । “म छु चिन्ता नगर्नुस्, छिट्टै निको हुन्छ,” प्रधानमन्त्री देउवाले सान्त्वना दिँदै भने, “दोषीलाई कारवाही हुन्छ ।”
बुधबार उदयपुरगढी गाउँपालिका–६ मा चुनावी अभियानमा रहेका कार्कीको गाडीलाई लक्षित गरी उदयपुरगढी गाउँपालिका– ६ स्थित दनुवारबेसीमा थापिएको एम्बुस विष्फोट हुँदा ७ जना घाइते भएका थिए । कार्की, कटुवालसहित पत्रकार नवराज पौडेल, गाडी चालक चालक राजन कार्की, धनमाया धौलाकोटी, गणेश पुरी र प्रहरी जवान कालिदास श्रेष्ठ पनि घाइते भएका हुन् ।
यसैबीच, घटनामा संलग्न मुख्य योजनाकार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले एम्बुस थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका–७ शाहीखोलाका बलबहादुर मगरलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले घटनामा संलग्न अन्यको पनि पहिचान भइसकेको र उनीहरूको खोजी भइरहेको जनाएको छ ।