निर्माणाधिन पार्कलाई हरियाली बनाइने «

निर्माणाधिन पार्कलाई हरियाली बनाइने

सदरमुकाम दमौली स्थित व्यास ३ मा निर्माणाधीन अवस्थामा रहेको पार्कलाई हरियाली बनाइने भएको छ । विश्व वातावरण दिवसको अवसरमा मंगलबार आयोजित वृक्षारोपण कार्यक्रममा पार्कलाई हरियाली पार्कको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो ।
‘प्लाष्टिक प्रदुषण निर्मुल पारौ, पुर्नप्रयोग गर्न नसके वहिष्कार गरौ’ भन्ने नाराका साथ आयोजना गरिएको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्लेले व्यासले गौरवको योजनाको रुपमा अघि सारेको पार्कलाई हरियाली बनाउने अभियानको सुरुवात भएको बताए । वातावरण जोगाउनु सबैको कर्तव्य भएको भन्दै वाग्लेले प्रकृतिलाई सम्झिएर वातावरण सँधै स्वच्छ राख्नुपर्ने बताए ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले व्यासको नेतृत्वमा अघि सारिएको पार्कलाई हरियाली बनाउन वृक्षारोपणले सहयोग पुराएको बताए । वातावरण संरक्षण गर्नु सबैको दायित्व भएकोले कोही पनि आफ्नो दायित्वबाट पन्छिन नहुने न्यौपानेले बताए ।
सो अवसरमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, सर्वसाधारण सबैले एक व्यक्ति एक विरुवा रोपण गरेका थिए । सोही अवसरमा नगर प्रमुख न्यौपानेले जसले रोपेको विरुवा राम्रो हुन्छ उसलाई पुरस्कार दिने घोषणा गर्दै भने, ‘आजैदेखि आफूले लगाएको विरुवा संरक्षण गर्न लागौं ।’
जिल्ला वन अधिकृत अम्बिका प्रसाद पौडेलले एक नगर एक उद्यान बनाउने सरकारको लक्ष्य रहेकोले व्यासले थालेको पार्क निर्माणले सरकारको योजनालाई टेवा पुराउने बताए । उनका अनुसार पार्कमा कपुर र म्याङ्गो स्टोनका ६० विरुवा रोपिएको थियो ।
समन्वय समितिको स्वामित्वमा रहेको जग्गा यस अघि खेलमैदान रहेको थियो । नगरपालिकाले खेलमैदान विपी वनवाटिकाको मैदानलाई बनाउने गरि यसअघिको खेलमैदानलाई पार्कको रुपमा विकास गर्न लागेको छ । हाल पार्कको चारैतिर कम्पाउन्ड लगाउने कार्य भइरहेको छ ।
यसैरी दिवसकै अवसरमा भिमाद नगरपालिका र इलाका वन कार्यालयको आयोजनामा वृक्षारोपण र नगर सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिका परिसरमा वृक्षारोपण गर्दै नगर प्रमुख मेखबहादुर थापाले स्वच्छ सफा हराभरा नगरको प्रतिबद्धता व्यक्त गर्दै आगामी वर्षभित्र नगरलाई पूर्ण वातावरणमैत्री बनाउने प्रतिबद्धता जनाए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय थमन सिंह थापा, सहायक वन अधिकृत रामाशिस यादव, वडा अध्यक्ष बुद्धिमान श्रेष्ठ, भिमाद खानेपानीका अध्यक्ष ऋषिराम राना लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा विभिन्न जातका ६० विरुवा रोपिएको थियो । यसैगरी नगरपालिकाका सम्पूर्ण टोल विकास संस्थाको नेतृत्वमा नगर सरसफाई समेत गरिएको थियो ।

कृष्ण न्यौपाने

 

प्रतिक्रिया दिनुहोस्