काम नगर्ने ठेकेदारको सूची गृह मन्त्रालय पठाइयो

खोटाङ-जिल्ला प्रशासन कार्यालय खोटाङले ठेक्का सम्झौता अनुसार समयमै काम पूरा नगर्ने ठेकेदारको सूची गृह मन्त्रालयमा पठाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले जिल्लामा सञ्चालित विकास निर्माणका काम तोकिएको समयमै नगर्ने १५ ठेकेदारको नाम मन्त्रालयमा पठाइएको र अन्यको पनि नाम संकलन जारी रहेको बताएका छन् ।
बेलैमा काम हुन नसकेका खोटाङका २१ योजनामध्ये मध्यपहाडी लोकमार्गका सबै खण्डका ठेकेदारको नाम पनि गृहमा पठाइएको सूचीमा रहेको गृहमन्त्रालय श्रोतले बताएको छ ।
समयमा काम पूरा नगर्ने ठेकेदारको सूचीमा मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हुर्लुङ सडक कालोपत्रे जिम्मा लिएको लामा–नागार्जुन–त्रिशूली जेभी, बिजुले–हुर्लुङ सडक कालोपत्रे जिम्मा लिएको लामा–नागार्जुन जेभी, हलेसी–बिजुले सडक कालोपत्रे जिम्मा लिएको लुम्बिनी–कन्काई–सूर्य जेभी, जयराम–हलेसी सडक कालोपत्रेको जिम्मा लिएको रौता–सन्तोषी जेभी, दिक्तेल–चखेवा सडक खण्डको कालोपत्रे जिम्मा लिएको रमन गोल्डेन तथा भारत मैनाचुली सिद्धिशाही जेभीको नाम सूचीमा परेको छ ।
मात्तिम र लफ्याङ जोड्ने साप्सु खोला मोटरेबल पुल पूरा नगर्ने हरिहर जेभी, बतासे र राजापानी जोड्ने मोटरेबल पुल निर्माणमा ढिलाइ गर्ने देवसायर एन्ड कान्छाराम, थामखर्क विमानस्थल निर्माणमा ढिलाइ गर्ने रौता कन्स्ट्रक्सन प्रालि, लामिडाँडा विमानस्थल निर्माणमा ढिलाइ गर्ने वाइएएन–एसएपी–सूर्य कन्स्ट्रक्सन जेभी, खानीडाँडा विमानस्थलमा गुणस्तरहीन कालोपत्रे गर्ने लामा बिल्डर्स च्याङमिला कन्स्ट्रक्सन कम्पनीको नाम पनि कारबाहीका लागि मन्त्रालयमा पठाइएको छ ।
कल्लेरी खोला सिँचाइ आयोजना खार्पाको काममा ढिलासुस्ती गर्ने एडी–सगरमाथा जेभी, पंखु–लप्से खोला सिँचाइ योजना चिउरीडाँडाको काम बेलैमा नगर्ने नागार्जुन कन्स्ट्रक्सन, टुवा खोला चिप्रिङ–इन्द्रेणीपोखरी–सिमपानी सिँचाइ योजनाको काममा ढिलाइ गर्ने गजुरमुखी–ड्र्यागन जेभीको नाम पनि कारबाहीका लागि सिफारिस भएको छ । यस्तै, मझौला सिँचाइ योजनाअन्तर्गत तावा खोला–पत्रंगेटार सिँचाइ योजना मात्तिमको जिम्मा लिएको एडी–जगदम्बा जेभी, चदरा दह सिँचाइ योजना फेदी निर्माणको जिम्मा लिएर काम पूरा नगर्ने संगम निर्माण सेवा, हरमा राई खेत सिचाइ योजना रतन्छाको काममा ढिलाइ गर्ने खाँनीडाँडा निर्माण सेवा, बेलिया कुलो सिँचाइ योजना रतन्छाको काममा ढिलाइ गर्ने रौता कन्स्ट्रक्सन प्रालि उदयपुर, साप्सु पेलुङ सिँचाइ योजना निर्मलीडाँडाको काममा ढिलाइ गर्ने सगरमाथा निर्माण सेवा भक्तपुर, तर्फयु सिँचाइ योजना बाँसपानीको काममा विलम्ब गर्ने पवित्रा–भुस्नाम्छा जेभी उदयपुर र काभ्रेखोला मुहान बगैंचा कुलो सिँचाइ योजनाको काममा अटेरी गर्ने दोभान निर्माण सेवा धनकुटाको नाम पनि कारबाही सूचीमा परेको जनाईएको छ ।