महिला कामदारले भारतको अर्थतन्त्र उकास्ने

थप महिलाले काम गरेमा भारतीय अर्थतन्त्र उकालो लाग्न सक्ने इभांका ट्रम्पले बताएकी छन् । दक्षिणी भारतीय सहर हैदराबादमा आयोजना भएको ग्लोबल इन्टरप्रिनियरसिप समिटमा बोल्दै राष्ट्रपति ट्रम्पकी छोरीले श्रमबलमा महिलाको सहभागिताले अर्थतन्त्र उकालो लाग्ने बताएकी हुन् ।
“यदि भारतले श्रम बलमा लैंगिक अन्तरलाई आधाले कम गर्न सक्यो भने आगामी तीन वर्षको अवधिमा भारतको अर्थतन्त्र १ सय ५० अर्ब डलरले उकालो लाग्न सक्छ,” उनले बताइन् ।
सबैभन्दा पछिल्लो उपलब्ध आधिकारिक तथ्यांक २०१२ ले कामको खोजी गरिरहेका १५ वर्ष भन्दा माथिका महिलाको एकतिहाइभन्दा कम मात्रै काममा रहेको देखाएको छ ।
काममा महिलाको सहभागिता ६ प्रतिशत बिन्दुको वृद्धिले मात्रै पनि भारतको २.४ ट्रिलियनको अर्थतन्त्रमा नाटकीय वृद्धि ल्याउने विश्व बैंकले मेमै जनाइसकेको छ । पछिल्लो त्रैमासमा भारतको आर्थिक वृद्धि ५.७ प्रतिशतमा झरेको थियो । यो वृद्धिदर प्रधानमन्त्री नरेन्द्र मोदीले २०१४ का कार्यकाल सुरु गरेयताकै न्यून हो । यो वृद्धिदर गत वर्षको अन्तिम महिनामा हासिल भएको ७ प्रतिशत वृद्धिको तुलनामा पनि ठूलो अन्तरले कम हो ।
आफ्नो प्रशासनले महिलालाई सक्षम बनाउनका लागि नीति ल्याउन लागेको पनि उनले बताइन् ।
इभांका ट्रम्पले महिलालाई गरेको समर्थनले आलोचनाको पनि सामना गर्दै आएको छ । उनले भनेअनुसारको काम नगरेको केहीले आरोप लगाउँदै आएका छन् । उनका पिताको प्रशासनले महिलाको अधिकारलाई कम आँकेको विषयमा पनि उनी मौन बसेको आरोप आलोचकहरूको छ ।
हैदराबादमा उनले गरेको भ्रमण पनि विवादास्पद रहँदै आएको छ । स्टेट सेक्रेटरी रेक्स टिलर्सनले स्टेट डिपार्टमेन्टबाट उनको साथमा उच्च तहको प्रतिनिधि नपठाउने सोच बनाएको अवस्थामा उनको हैदराबादको भ्रमणलाई विवादास्पद मानिँदै आएको छ ।
स्टेट डिपार्टमेन्टले मंगलबार विभागबाट २ सयको हाराहारीमा प्रतिनिधि पठाएको र नयाँ दिल्लीस्थित अमेरिकी राजदूतावासबाट पनि कर्मचारी खटाएको जनाएको छ । उनीहरूले शिखर सम्मेलनलाई सहयोग गरेको विभागले जनाएको छ ।