काममा ढिलाइ गर्ने ३ कम्पनीका प्रतिनिधि सम्पर्कमा

ठेक्का लिएर समयमै काम नगरेका तनहुँका ठेकेदार कम्पनीका प्रतिनिधि जिल्ला प्रशासन कार्यालयको सम्पर्कमा आएका छन् ।
जिल्ला प्रशासन कार्यालय तनहुँले ठेक्का लिई काममा ढिलाइ गर्नेको विवरण गृह मन्त्रालयमा पठाएपछि तीन कम्पनीका प्रतिनिधि सम्पर्कमा आएका हुन् । प्रमुख जिल्ला अधिकारी भरत शर्माले वाइपी कन्स्ट्रक्सन प्रालि काठमाडौं, सन्तोषी निर्माण सेवा चितवन र सूर्य एण्ड सन्स प्रालि धरानका प्रतिनिधि प्रशासनको सम्पर्कमा आएको जानकारी दिए । “उनीहरूले छिटोभन्दा छिटो काम सम्पन्न गर्छौ भनेर प्रतिबद्धता जनाएका छन्,” प्रमुख जिल्ला अधिकारी शर्माले भने, “अन्य ठेकेदारको पनि खोजी भइरहेको छ ।”
वाइपी कन्स्ट्रक्सन प्रालि काठमाडौंले सिन्धु मार्गको ठेक्का लिएको छ । २०७४ माघसम्म अवधि भएकोमा मार्गको काम ३५ प्रतिशत मात्रै भएको छ । सन्तोषी निर्माण सेवा चितवनले कृष्ण मार्गको ठेक्का पाएको छ । २०७५ भदौसम्म ठेक्काको म्याद भए पनि काम २३ प्रतिशतमात्रै सम्पन्न भएको छ । सूर्य एण्ड सन्स प्रालि धरानले बडहरे खोला पुलको ठेक्का पाएको छ । २०७४ चैत्रसम्म ठेक्का अवधि भए पनि काम भने २२ प्रतिशतमात्रै छ ।
प्रशासन कार्यालयले प्रारम्भिक चरणमा जिल्लाका ७ योजनामा ढिलाइ भएको विवरण मन्त्रालय पठाएको थियो । स्वच्छन्द/मना जेभी, वाइपी कन्स्ट्रक्सन प्रालि काठमाडौं, सन्तोषी निर्माण सेवा चितवन, बीटी जयबाबा जेभी काठमाडौं र सूर्य एण्ड सन्स प्रालि धरानले सरकारी कार्यालयसँग सम्झौता गरी समयमा काम नगरेको तथ्यांकसहित विवरण मन्त्रालय पठाइएको थियो ।
प्रशासन कार्यालयले पठाएको विवरणमा स्वच्छन्द/मना जेभीले तीनवटा योजना समयमै सम्पन्न नगरेको पाइएको छ । सदरमुकाम दमौलीस्थित महिला तथा बालबालिका कार्यालय तनहुँको २०७२ असार मसान्तसम्म सक्नुपर्ने भवन तीन वर्ष पुग्न लाग्दासमेत अलपत्र छ । त्यस्तै सोही कम्पनीले ठेक्का लिएको श्रृंगपथ मार्गको काममा ढिलाइ भएको पाइएको छ । २०७२ जेठमा सम्झौता भएर २०७४ फागुनमा सम्पन्न गर्नुपर्ने भए पनि उक्त मार्गको काम हालसम्म ४१ प्रतिशतमात्रै सम्पन्न भएको छ । यसैगरी यही कम्पनीले नै ठेक्का लिएको चुँदीखोला पुल २०७४ चैत्रमा सम्पन्न गर्ने सम्झौता भएको थियो । तर उक्त पुलको काम ४३ प्रतिशतमात्रै सम्पन्न भएको छ ।
बीटी जयबाबा जेभीले ठेक्का लिएको लाब्दीखोला–छिम्केश्वरी पुलको काम ३० प्रतिशतमात्रै सम्पन्न भएको छ । उक्त पुल २०७२ फागुनमा सम्पन्न गर्ने गरी २०७० चैतमा सम्झौता भएको थियो ।
–कृष्ण न्यौपाने
वडा अध्यक्षद्वारा २२ लाख घोटला
भोजपुर- भोजपुरको षडानन्द नगरपालिका–८ का अध्यक्ष किशोर किराँतले कामै नगरी योजनाको रकम समितिसँग मिलेर घोटला गरेका छन् । अध्यक्ष किरातीले विद्युत् विस्तारका लागि छुट्याइएको ५८ लाख ६१ हजारको योजना सम्पन्न नगरी सम्पन्न बनाएको कागजात मिलाई करिब २२ लाख घोटला गरेका हुन् ।
किराँती एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनले गाउँमा विद्युत् विस्तारका लागि छुट्याइएको ५८ लाख ६१ हजार बजेटको ३६ प्रतिशतमात्र काम सम्पन्न गरेर अन्य रकम कर्मचारीसँगको मिलेमतोमा घोटला गरेको स्थानीयको आरोप छ । बत्ती बाल्नका लागि षढान्नद नगरपालिकाबाट ४१ लाख, साविकको वडा ५ र ६ बाट १० लाख र जनश्रमदान बाट ७ लाख ६१ हजार गरी ५८ लाख ६१ हजार रकम संकलन गरिएको थियो । खातामा जम्मा गरेको रकम स्थानीयले खोज्दा नभेटाएपछि उनीहरूले दबाब दिएलगतै घटना सार्वजनिक भएको हो ।