तरकारी र च्याउखेतीले फेरियो जीवन

नेपालगन्ज- विगतमा परम्परागत शैलीबाट खेती किसानी गर्दै आएका बाँके कोहलपुर–२ आनन्दनगरका कुलबहादुर रोकायाले ५ वर्षदेखि व्यावसायिक कृषि पेशा शुरु गरेका छन् । उनले मैटहवामा दुई विगाह जमिन भाडामा लिएर ब्यावसायीक तरकारी खेती गर्दै आएका छन् ।
बार्षिक ४० हजार रुपैयाँ जग्गाको भाडा तिर्ने उनी आफ्नो जमिन नहुँदा रोजगारी चलाउनसमेत यसो गरेको बताउँछन् । रोकायाले तरकारी मात्र नभएर व्यावसायिक च्याउ खेतीसमेत गरिरहेका छन् ।
व्यावसायिक तरकारी र च्याउ खेती फस्टाउँदै गएपछि उनले आफ्नो झुप्रो घर भएको ठाउँमा अहिले ४ कोठे पक्की घर निर्माण गरेका छन् । तरकारी र च्याउ बेचेर गाउँमा पक्की घर बनाएपछि अहिले उनलाई गाउँलेहरुले तरकारी साहु भन्ने गरेका छन् ।
कुनै बेला खान लाउनसमेत धौधौ हुने रोकायालाई अहिले घर खर्चदेखि सम्पूर्ण खर्च तरकारीकै आम्दानीले पुग्ने गरेको छ । उनले सोही ब्यवसायबाट आफ्ना तीन जना बालबालिकालाई कोहलपुरमा राम्रो विद्यालयमा पढाइरहेका छन् ।
तरकारी खेतीमा खासै समस्या नभएको बताउने रोकाया बर्षायाममा भने पानी जम्ने हुँदा केही समस्या आउने गरेको बताउँछन् । च्याउ बिक्री गरिरहँदा कोहलपुरमा भेटिएका रोकायाले खेतीमा लागेपछि उनलाई कृषि कार्यालयले रेखदेख गर्ने सल्लाह सुझाव दिने गरेको बताए ।
कृषक रोकायाले अन्य तरकारी जस्तै च्याउको व्यवसाय पनि निकै फस्टाएको बताए । उनले बाँकेमा च्याउको अझै ठूलो सम्भावना र बजार रहेको भन्दै अन्यलाई पनि व्यावसायिक खेती गर्न सल्लाह दिएका छन् । कोहलपुरमा हप्ताको ३ पटकसम्म हाट बजार लाग्ने भएकाले तरकारी खेतीका लागि बजारको कुनै समस्या छैन । हप्ताको तीनै दिन कोहलपुर कृषि हाटबजारमा रोकायाले उत्पादन गरेको तरकारी पुग्ने गरेको छ ।
केही वर्षअघि जाजरकोटबाट बसाइँसराइ गरेर कोहलपुर आएका रोकाया हाल आएर व्यावसायिक तरकारी खेतीमै रमाइरहेका छन् । कृषक रोकायालाई पहिले कसैले नचिन्ने भए पनि अहिले धेरैले मेहनति कृषक भनेर चिन्छन् । खेती किसानी कामभन्दा अन्य काम आफूले नजानेका कारण पनि यसैतर्फ अघि बढेको उनी बताउँछन् । उनले विदेश जाने सोच त्यागेर आफ्नै देशमा जाँगर गरे धेरै राम्रो आम्दानी गर्न सकिने बताए ।