खानेपानी थाप्न रातभर लाइन «

खानेपानी थाप्न रातभर लाइन

खानेपानी थाप्नका लागि दिउँसो पालो नपाउँदा रातभर लाइन बस्नु हुम्लाको नाम्खा गाउँपालिका वडा नं. १ लेक धिँगावासीको दिनचर्या नै बनेको छ । ४ हजार ५ सय मिटर उचाइको बस्तीमा १ सय ५० घरधुरीवासी खोनेपानी थाप्नकै लागि यस्तो समस्या भोग्दै आइरहेको छन् ।
गाउँमा करिब ७ किलोमिटर टाढाको वनबाट ल्याएको खानेपानीको धारा एउटै भएको र पर्याप्त पानी नआउने भएपछि धिँगावासी वर्षौंदेखि खानेपानी समस्याबाट पीडित छन् । जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयलाई यहाँको समस्याबारे अवगत गराउँदा पनि कुनै पहल नगरेपछि यहाँका बासिन्दालाई खानेपानीको समस्या बढ्दै आएको छ ।
खानेपानीको समस्या हुँदा राम्ररी सरसफाइ गर्न समेत नपाएको स्थानीयले बताउने गरेका छन् । नुहाउन र लुगा धुनका लागि २ घण्टा टाढाको औल धिँगामा जाने गरेको यहाँका बासिन्दा बताउँछन् । महिनौंसम्म पानीको अभावले नुहाउन नपाउँदा छालालगायत अन्य रोगबाट पीडित हुनुपरेको स्थानीय देवी लामाले बताइन् । साना बालबालिका भएका घरका लागि त यहाँको बसाइ नर्कै भएको स्थानीयले बताए । साना बालबालिकाले फोहर बढी गर्ने र कपडामै दिसा–पिसाब गर्ने भएका कारण कपडा धुन समस्या भएको स्थानीयको अनुभव छ ।
गाउँमा पालेका पशुवस्तुलाई खुवाउनसमेत खानेपानीको हाहाकार छ । भाँडा पखालेर बचेको पानी, गाउँलेले खाल्डोमा जम्मा गरेको पानी वस्तुभाउलाई खान दिने गरिएको छ । फोहोर पानीका कारण वस्तुभाउलाई रोगसमेत लाग्ने गरेको छ । अधिकांश चौंरीपालन गरिने यो ठाउँमा यस वर्ष मात्र पानीकै कारण १५ वटा चौंरीलाई रोग लागी गुमाउनुपरेको स्थिति छ । ८५ हजारदेखि १ लाख ३० हजारसम्म पर्ने चौंरी गाई गुमाउँदा लाखौंको सम्पत्ति गुमाउनुपरेको छ । कहिलेकाहीँ पानी भर्नका लागि समस्या हुँदा औल धिँगा गाउँबाट घोडा र खच्चरबाट पानीको ढुवानी गर्नुपर्ने अवस्था छ । जलवायु परिवर्तनको कारण केही वर्ष अघिदेखि हिमालमा हिउँ नपर्दा नजिकको कुवाको पानी पनि सुक्न गई स्थानीयले यस्तो समस्या भोग्दै आएका छन् ।
धेरैले जिल्लाको विकास गर्छौं भन्ने गरेका छन्, तर कहाँ कसरी गर्छन्, लेक धिँगावासीलाई पत्तो नभएको स्थानीय बताउँछन् । लेक धिँगामा धिँगा र गारापारि गाउँका स्थानियको मुख्य अन्न उत्पादन हुने क्षेत्रका रूपमा चिनिएको छ । यहाँको उत्पादनले करिब ८ महिना खानका लागि अन्न उत्पादन हुने गरेका कारण पनि यो बस्ती स्थानीयले छाड्न सकेका छैनन् । परापूर्वकालदेखि यहाँको अन्नकै भरमा स्थानीय भर पर्दै आइरहेका छन् ।
अझ सडक सञ्जाल यहाँ जोडिएपछि भविष्यमा झन् यहाँको बसाइ फलदायी हुने आशा भए पनि खानेपानी समस्याले रातभर निद्रा नलाग्ने गरेको स्थानीय पेमा लामाको भनाइ छ । कहिलेकाहीँ त पानी भर्नका लागि रातभर पालो नपाइने गरेको अनुभव स्थानीयले बताउने गरेका छन् । खानेपानीको पालो मिचेर कहिलेकाहीँ पानी थाप्दा यहाँ महिला–महिलाबीच भनाभन र हात हालाहालको स्थितिसमेत सिर्जना हुने गरेको छ । रातभरि नसुतेर आगो बाली पानीको पालो कुर्नुपर्ने बाध्यता छ ।
यस क्षेत्रमा प्रशस्त फापर, आलु, चोती, तोरीको खेती गरिने भए पनि खडेरीका कारण यसको उब्जनी पनि कम हुने गरेको छ । यहाँ उत्पादित अग्र्यानिक फापर, आलु र तोरी हुम्ला जिल्लाभरकै मीठो र स्वादिष्ट हुने गरेको छ । प्रशस्त मात्रामा पाँचऔंले, कटुकी, अत्तिस, च्याउलगायतका जडीबुटी उत्पादन हुने र अनुकुल हावापानी भए पनि हाल कुनै उत्पादन राम्रो गर्न नसकिएको छिटुपदोर्जी लामाले बताए । यहाँ खानेपानीको मात्र समस्या समाधान गर्न सकिए भविष्यमा पर्यटनका लागि उपयुक्त ठाउँ हुने देखिएको छ । चीनको हिल्साबाट लिमी लाप्चा सडक यही गाउँबाट सदरमुकाम सिमिकोट जाडिसकेको छ भने ७ किलोमिटर दक्षिणमा रहेको हेप्का खोलामा पुल बनेमा चीनबाट यो गाउँको बाटो हुँदै सिमिकोट जोडिएमा पर्यटकको आकर्षक गन्तव्यस्थल हुन सक्ने उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्ष नाम्ग्याल लामाले बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्