जनप्रतिनिधिको परीक्षण काल पूरा

मुलुक संघीय संरचनामा रूपान्तरण भएपछि स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक वर्ष पूरा भएको छ । २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिले जेठ ८ गते सपथ ग्रहण तथा पदबहाली गरेको धुनीवेसी नगरपालिकाका जनप्रतिनिधिको एक वर्षे परीक्षणकाल पूरा भएको छ ।
संघीय संरचना निर्माण भइरहँदा बनाइएको नयाँ नगरपालिका हो धुनीबेसी । साविक छत्रेदेउराली, जीवनपुर र नौबिस गाविस गाभेर बनाइएको धुनीबेसी नगरपालिका सहरोन्मुख हुँदैछ । राजधानी प्रवेशद्वार रहेको नगरपालिका भएकाले पनि यहाँका बासिन्दाको काठमाडौमा पनि बसोवास छ । यहाँका बासिन्दा तथा श्रमजीवी किसान रायोको बीउ किन्नदेखि सुन किन्नसम्म र अध्ययन तथा जागिर खानसम्म काठमाडौ नै पुग्ने भएकाले पनि सहरिया वातावरणले प्रवेश पाएको छ ।
जनप्रतिनिधि आएपछि ‘सुशासन र विकास, अग्रगामी निकास, उद्योग र कृषि, सुन्दर सम्पन्न धुनिबेसी’ नारा बनाएर कार्य प्रारम्भ गरेका थिए । संविधान कार्यान्वयनसँगै भएको निर्वाचन र नयाँ नगरपालिका भएकाले नगरपालिकासँग कुनै कानुन थिएनन् । सबै कानुन बनाउन पर्ने भएकाले पनि शतप्रतिशत योजना कार्यान्वयन हुन नसकेकाले आगामी आवमा शतप्रतिशत योजना कार्यान्वयन हुने बताउँछिन् नगर उपप्रमुख निरु खरेल ।
निर्वाचन पूर्वको हाम्रो प्रतिबद्धतालाई जनताले अनुमोदन गरेकाले तिनै प्रतिबद्धता नगरपापलिकाकोे मार्गदर्शनको रूपमा लिएका छौं । एकीकृत नगर विकास योजना बनाई भूकम्पपछिको पुनर्निर्माण, सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधार, कृषि तथा पशुपंक्षी व्यवसायवाट आयआर्जनमा वृद्धि, सडक, सहरी एवं औद्योगिक क्षेत्रको विकास गरिने छ । यसैगरी सडक निर्माण तथा स्तरोन्नति, सडक पेटी निर्माण, सडक सुरक्षा र राजमार्ग क्षेत्रको सरसफाइ, खानेपानी सुविधा विस्तार, नगरस्तरीय अस्पताल निर्माण, गुणस्तरीय स्वास्थ्य सेवा, होटल तथा अन्य व्यवसायको प्रवद्र्धन एवं व्यावसायिक मूल्य मान्यता अनुरुपको सुशासन र पारदर्शिताप्रति प्रतिबद्ध रहेकोे नगर प्रमुख बालकृष्ण आचार्यले बताए ।
संघीय राजधानी काठमाडौंको नजिक हुनु, मुख्य दुईवटा मुख्य राजमार्ग नगर हुदै सञ्चालनमा रहनु, निर्माणाधीन सुरुङमार्ग, औद्योगिक र कृषि उत्पादनको बजारसम्मको सहज पहुँच, प्राविधिक शिक्षालय निर्माणको थालनी, तरकारी पकेट क्षेत्र, कुखुरापालन पकेट क्षेत्र, ह्याचरी उद्योग पनि यहीं छन् । फलफूल, तोप्लाङको आलुको उत्पादन, आन्तरिक तथा बाह्य पर्यटनको खानाखाजा खाने होटलहरु प्रशस्त हुन, रमणीय पर्यटकीय चन्दागिरी, नागार्जुन र थाहा नगरका सिमा र आसपासका क्षेत्रमा पर्यटन क्षेत्रको विकासमा साझेदारी गर्न सकिने ठाउँ पनि रहेकाले विकासको सबैभन्दा ठूलो सम्भावना भएकाले नगरको विकास गरिने प्रमुख आर्चायले बताए ।
चालू आवमा ८४ वटा सडकलाई ३ करोड ७४ लाख, ६५ वटा खानेपानी योजनालाई २ करोड ४३ लाख, १४ वटा विद्यालयलाई १ करोड विनियोजन गरिएको छ । यसैगरी ३० वटा पर्यटन, संस्कृति र सम्पदा संरक्षणमा ७५ लाख ८४ वटा साना योजनामा २ करोड ७ लाख र २८ सय ४१ जनाका लागि सामाजिक सुरक्षा भत्तावापत ५ करोड ६७ लाख विनियोजन गरिएको प्रमुख आचार्यले बताए । नगरपालिकाले ७ वटा ऐन, ३ वटा नियमावली, १८ वटा कार्यविधि र २ वटा मापढण्ड राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको छ । न्यायिक समिति गठन र कार्य सम्पादन, नक्सा पास कार्य प्रारम्भ भएको आर्चायले बताए ।
जनप्रतिनिधिले एक वर्षे परीक्षण काल सफलतापूर्वक पूरा गरेकाले बाँकी ४ वर्षमा सुखी नगरवासी, समृद्ध नगर बनाउन एकीकृत विकास योजना बनाएर अघि बढ्न जिसस प्रमुख जगन्नाथ नेपालले सुझाए । प्रमुख नेपालले नगरपालिकाको मोबाइल एप्स शुभारम्भ र राजपत्रमा प्रकाशित कानुनको समेत विमोचन गरेका थिए ।