नयाँ जहाज थप्न रोक लगाउने तयारी

हवाई क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फ २ वर्षको लागि नयाँ जहाज र एयरलाइन्सको अनुमतिमा रोक लगाउने तयारी गरेको छ । नयाँ जहाजका लागि भएको ‘पार्किङ वे’ले नधान्ने भएपछि आन्तरिकतर्फका सबै एयरलाइन्सलाई नयाँ जहाज ल्याउन कम्तीमा दुई वर्षसम्म रोक लगाउने तयारी भएको हो ।
देशभरका विमास्थलको जहाज पार्किङ क्षमता ४६ मात्रै रहेको र हाल आन्तरिक उडान भर्ने एयरलाइन्स कम्पनीसँग पनि ४६ वटै जहाज पुगेपछि नयाँ जहाज थप्न रोक्ने तयारी गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको र काठमाडौंबाहिर रहेका विमानस्थलको पार्किङ वे विस्तार नभएकोले नयाँ जहाज थप गर्न र नयाँ एयरलाइन्स थप्न रोक लगाउने तयारी प्राधिकरणले गरेको हो । प्राधिकरणले ६ महिना अगाडि प्रेमनाथ ठाकुरको संयोजकत्वमा अध्ययन गर्न ३ सदस्यीय प्राविधिक समिति गठन गरेको थियो । समितिले नेपालभरका विमानस्थले ४६ वटा विमान मात्र पार्किङ गर्नसक्ने क्षमता भएकोले क्षमता विस्तार नभएसम्म नयाँ जहाज थप गर्न नहुने निष्कर्षसहितको प्रतिवेदन गत साता प्राधिकरण नेतृत्वलाई बुझाएको छ ।
“प्रतिवेदन हामीलाई बुझाइएको भए पनि हाल छलफल जारी रहेको र निर्णय भने भएको छैन,” प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले भने । विमान र एयरलाइन्सको चाप बढेकोले समस्या समाधान गर्न धेरै सुझाव र छलफल प्राप्त भइरहेको पोखरेल बताउँछन् । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेलीप्याड नै अर्को स्थानमा सारेर अहिलेको स्थानमा पार्किङ वे बनाउने प्राधिकरणले तयारी गरेको समेत पोखरेलले जानकारी दिए । विराटननगर, जनकपुर, धनगढी, नेपालगन्ज, लुक्ला, सिमरालगायतका विमानस्थलमा समेत पार्किङ वे विस्तारको तयारी प्राधिकरणले गरेको छ ।
प्रतिवेदन हाल प्राधिकरणका उच्च तहले अध्ययन गरिरहेको छ । “विमान थप्न दिनु भनेको एयरलाइन्स र यात्रुलाई थप सास्ती दिनु हो,” प्राधिकरणका एक उच्च अधिकारीले भने । सवैतर्फको अध्ययन गर्दा हाल नेपालमा ४६ वटा विमान रहेको र सोही आधारमा अब कुनै पनि एयरलाइन्सलाई थप जहाज ल्याउन दिन नसक्ने अवस्थामा पुगेको छ । विमानस्थलमा पार्किङ गर्ने स्थान नहँुदा अहिले पनि १५ मिनेटदेखि १ घन्टासम्म आकासमै जहाज होल्ड गर्नुपर्ने अवस्था छ । अर्कोतर्फ हवाई सुरक्षामा चुनौतीसमेत थपिएको समितिको निष्कर्ष छ ।
प्राधिकरणले यसै वर्षदेखि देशका महत्वपूर्ण विमानस्थलमा पार्किङ वे थप गर्ने प्रक्रिया सुरु गर्दै दुई वर्षमा कम्तिमा १ सय जहाजको लागि स्पेस तयार गर्नको लागि प्रक्रिया सुरु गर्न लागेको जानकारी दिएको छ । नयाँ पार्किङ वे थप गर्न २ वर्ष लाग्ने भएकोले प्राधिकरणले कुनै पनि एयरलाइन्स कम्पनीलाई जहाज थप गर्न नदिनेगरी प्रतिवन्ध लगाउने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप हुदाँ विमानस्थल कार्यलयलाई यात्रु ह्यान्डलिङ गर्न समेत हम्मेहम्मे परेको छ ।
हाल नेपालमा ठूला जहाज थप्ने होड चलेको बेला प्राधिकरणले चाल्ने कदमबाट एयरलाइन्स कम्पनीहरू कम्तीमा दुई वर्ष खुम्चने अवस्था आउने छ । विभिन्न विमानस्थलमा हाल उडान भर्नका लागि एयरलाइन्स कम्पनीसँग ४६ वटा ‘फिक्स विङ’ विमानहरू रहेका छन् । देशभरको विमानस्थलमा पार्किङको क्षमता पनि ४६ वटा मात्रै भएकोले अव विकल्प तयार नभएसम्म नयाँ थप हुन नसक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकको लागि १७ वटा मात्रै पार्किङ वे रहेको छ । तर पनि जवर्जस्त रूपमा ३५ वटासम्म पार्किङमा राख्दै आएको छ । केही एयरलाइन्सले काठमाडौंबाहिर पार्किङ गर्नेगरी अनुमति लिएपनि काठमाडौंमै राखिरहेको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका अनुसार यसै वर्ष त्रिभुवन विमानस्थलमा नयाँ हेलिप्याड बनाउने गरी बजेट विनियोजन भएको छ । साथै केही दिनअघि मात्रै पारित भएको प्राधिकरणको बजेटमा पार्किङ वे निर्माणको लागि बजेट छुट्याइएकाले आन्तरिक स्रोतबाटै धमाधम पार्किङ वे निर्माण गर्ने तयारी प्राधिकरणले गरेको छ । हाल देशभर ५६ वटा आन्तरिक विमानस्थल छन् । जसमा ३१ विमानस्थल सञ्चालनमा छन् भने २३ वटा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको छ । त्रिभुवन विमानस्थलमा हाल ४ सयवटा आन्तरिकतर्फका उडान-अवतरण हुने गरेको छ भने अन्तर्राष्ट्रियतर्फ ८० वटा उडान-अवतरण हुने गरेको छ ।