हावाहुरीले २७ मेगावाट विद्युत् उत्पादन बन्द «

हावाहुरीले २७ मेगावाट विद्युत् उत्पादन बन्द

 हावाहुरी र बतासका कारण रसुवाबाट नुवाकोट हुँदै केन्द्रीय ग्रिडमा आउने विद्युत् उत्पादन बन्द भएको छ । चिलिमे–त्रिशूली १३२ केभी प्रशारणलाइन अन्तर्गतको भैंसेमा हावाहुरीका कारण कन्डक्टर तार चुँडिएपछि चिलिमेको २२ मेगावाट र मैलुङको ५ मेगावाट विद्युत् उत्पादन बन्द भएको हो । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले हावाहुरीले तार चुँडिएपछि दुवै आयोजनाबाट आउने विद्युत्को उत्पादन बन्द गरेर मर्मत संभार भइरहेको जानकारी दिए । “हावाहुरीले तार चुँडिएपछि २७ मेगावाट बराबरको विद्युत् उत्पादन बन्द गर्नुपरेको छ,” उनले भने, “मर्मत सकिएपछि विद्युत् केन्द्रीय ग्रिडमा जोडिनेछ ।”
प्रसारण लाइनका कारण रसुवाका केही क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । २७ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनबाट विच्छेद भएपछि काठमाडौँमा भने लोडसेडिङ नहुने उनले जानकारी दिए । “कुलेखानीमा पानी प्रशस्त रहेकाले कुलेखानी जलाशयको पानी उपयोग गरेर लोडसेडिङ नहुने व्यवस्था गरेका छौं,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्