Logo

घर सफा नराखे सरकारी सेवा बन्द

रुकुम- घरमा शौचालय नबनाए सरकारी सेवा सुविधा नदिइने गरेको समाचार त आउने गरेका थिए । तर, के घर लिपपोत नगरे पनि सरकारी सेवा नपाइने गरेको कतै सुन्नुभएकोे छ ? तर अचम्म मान्नुपर्दैन । नयाँ जिल्ला बनेको रुकुम पूर्वको भूमे गाउँपालिकामा यस्तै नियम बनाइएको छ ।
गाउँपालिकाको वडा नं. २ कार्यालयले एक महिनाभित्र घर लिपपोत नगरे वडा कार्यालयबाट प्रदान हुने सम्पूर्ण सरकारी सेवाहरू बन्द गर्ने चेतावनीसहितको सूचना जारी गरेको हो । केही दिनअघि बसेको वडाको १३ बैठकले निर्णय गरेर वडा क्षेत्रका प्रत्येक घरधुरीले असार मसान्तभित्र घर लिपपोत नगरेमा वडादेखि पाइने सेवा सुविधा नै नदिने निर्णय गरेको वडाअध्यक्ष नरबहादुर बुढाले जानकारी दिए । उनका अनुसार यसअघिकै बैठकले भदौ १६ गतेदेखि नै वडाले पूर्ण सरसफाइअन्तर्गत घरआँगनको सरसफाइसँगै लिपपोत गर्ने निर्णय गरेको थियो । निर्णय भएको लामो समय बितिसक्दा पनि स्थानीयवासीले कार्यान्वयन नगरेपछि पुनः सार्वजनिक सूचना निकालिएको हो ।
“आफ्नोे घर आँगन सरसफाइ र लिपपोत त सबैले गरेर वातावरण सुन्दर बनाउनुप¥यो नि, त्यसका लागि यसअघि भएकै निर्णयलाई हामीले पुनः सूचनाको रूपमा प्रकाशन गरेका छौं,” अध्यक्ष बुढाले भने, “अहिले नै लिपपोत नगरेको घरलाई सेवासुविधा रोकेका छैनौं, आगामी असारसम्म पनि अटेरी भयो भने त त्यो रोक्ने काम हुने भइहाल्यो ।”
जिल्ला खुला दिशामुक्त भए पनि घरआँगनको सरसफाई र वातावरणीय सुन्दरमा खासै ख्याल नहुँदा यस्तो प्रयास गरिएको वडा कार्यालय जनाएको छ । ‘शौचालयमा दिशा गरेर मात्र के गर्नु, घरआँगन भद्रगोल अनी फोहोर छ, पशु चौपायको मलमूत्र पनि यत्रतत्र छ भने कसरी हामी स्वस्थ्य जिवन विताउन सक्छौं ?’ उनले भने, “लिपपोतलाई थप आकर्षक बनाउन चाहेमा वडा कार्यालयले प्रत्येक घरधुरीलाई पाँच किलो रङसमेत दिने निर्णय भइसकेको छ ।” वडा कार्यालयले अन्य नियमित विकास निर्माणका काममा पनि तिब्रता दिइरहेको बताइएको छ । आगामी आर्थिक वर्षका लागि सम्भावित सडक, खानेपानी, घोरेटो तथा गोरेटोबाटो, विद्युत्, शिक्षा तथा स्वास्थ्य र संस्कृति पर्यटनको योजनासमेत तर्जुमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्