रैथाने बाली जोगाउँदै बीउ बैंक «

रैथाने बाली जोगाउँदै बीउ बैंक

जुम्ला- तराईदेखि हिमालसम्म परनिर्भरताले छोएपछि नेपालीहरू अधिकांश आयातित वस्तुमा निर्भर हुन थालेका छन् । लगाउने लुगादेखि खाने चामलसम्म पनि आयात हुने गरेको छ । खेतीयोग्य जमिन बाँझै छ । नेपालमै उत्पादित बाली पनि आयातितभन्दा महँगो हुन थालेपछि बिक्री हुन सकेको छैन ।
पछिल्ला दिनमा काला पहाड जाने अलि कमाएर त्यहीबाट खाद्यान्न किनेर ल्याउन क्रम बढ्दो छ । आयातित बस्तुमा निर्भरता र अल्छि प्रवृत्तिले छोएपछि जुम्लामा पाइने रैथाने अन्नबाली हराउन थालेका छन् ।
पत्थरी, पेट दुखेको सन्चो हुने, जहर भएकालाई निको गर्ने अग्र्यानिक रैथाने अन्न (गहत, चिनो, कागुनो, फापर, मार्से, कालीमासी, दारिमे धानको बीउ) लोप हुन थालेका छन् । कतिपयले बाली लगाउन खोजे पनि बिउनै नपाउने अवस्था आएको छ । किसानहरू रैथानेबालीको बिउ खोज्दै गाउँगाउँ चहार्न थालेका छन् । परम्परागत रैथाने अन्नबाली लोप हुने अवस्थामा पुग्ने दुःखद भएको कृषिविद्हरू बताउँछन् । उनीहरू स्थानीय सरकारले एक गाउँ एक उत्पादनको नीति अघि सार्नुपर्नेमा जोड दिएका छन् । कृषि विकास कायालय जुम्लाका वरिष्ठ कृषि अधिकृत भरतप्रसाद कँडेलले एक गाउँ एक उत्पादनको नीति तत्काल कार्यान्वयन गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले रैथाने बाली संरक्षण गर्दै सामूहिक खेती प्रणाली अवलम्बन गर्न सके रैथाने बाली संरक्षण मात्र नभई कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताए ।

बीउ बैंकप्रति आकर्षण
रैथाने बाली लोप हुन थालेपछि त्यसलाई जोगाउन जुम्लामा बीउ बैंक स्थापना गर्न थालिएको छ । बीउ बैंकहरूले परम्परागत बाली संरक्षणमा जोड दिने गरेको छ । गाउँगाउँमा खुलेका बीउ बैंकहरूले परम्परागत रुपमा उत्पादन हुँदै आएका रैथाने बालीको संरक्षणमा विशेष जोड दिएको तातोपानी गाउँपालिका कृषि शाखाले जनाएको छ ।
चिनो, कागुनो, गहत, फापर जस्ता लोपोन्मुख अन्न अहिले सजिलै वीउ बैंकहरूमा पाइन थालेको छ । किसानसँग नभएका परम्परागत बालीनाली बिउ बैंकले संरक्षण गरेर राखेकाले सहजै पाउन थालिएको तातोपानी गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रबहादुर शाहीले बताए ।
उनका अनुसार तातोपानी गाउँपालिका २ मा रहेको पन्चदेवल बीउ बैंकले विभिन्न अन्न संकलन गर्दै आएको छ । लोपोन्मुख अवस्थामा रहेका चिनो, कागुनो, सिमी, फापर, कोदो, गहुँ, मार्से तथा धानका विभिन्न बीउहरूलगायत २५ प्ररकारका स्थानीय अन्न संकलन गरेर राखिएको बीउ बैंकका अध्यक्ष हर्केश दमाईले बताए । “बीउ बैंक स्थापना नहुन्जेल बीउका लागि निकै सास्ती हुन्थ्यो, तर अहिले सबैलाई सहज छ,” उनले भने, “समूहमा रहेका किसानले नै सिजन अनुसारको बीउ संकलन गरेर बीउ बैंकमा राख्ने गरेका छौं ।” आफूहरूसँग नभएका बीउ पनि अन्यत्रबाट खोजेर राख्ने गरेको बीउ बैंकका सचिव हस्त दमाईले बताए ।
बीउ बैंकमा अहिले हिउँदे तथा वर्षे बालीका बीउ पाइन्छ । जिल्ला बाहिरबाट पनि बीउको माग हुने गरेको छ । जुम्लाको पहिचानसँग जोडिएको रैथाने अन्न जोगाउन बीउ बैंकहरू पछिल्लो समय निकै सक्रिय भएका छन् । जुम्लामा मात्रै अहिले ५० भन्दा बढी बालीको बीउ संरक्षण गरिएको छ ।

स्थानीय सरकारका कृषि नीति
जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकाले रैथाने अन्न संरक्षण तथा प्रबद्र्धनका लागि प्रचार प्रचारमा बढी जोड दिने बताएका छन् । पातारासी गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहोराले एक गाउँ एक उत्पादन, पकेट क्षेत्र निर्धारण, भण्डारणको व्यवस्था र सहज बजारीकरणमा आफूहरू सक्रिय भएको बताए । “जुम्लीको पहिचान यहाँको अन्न र उत्पादनसँग जोडिएको छ,” उनले भने, “आफ्नो पहिचान जोगाउन रैथाने बालीको संरक्षण तथा उत्पादनमा जोड दिनुपर्छ ।”
तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले लोपोन्मुख अवस्थामा रहेका बालीको सामूहिक खेती गर्नेलाई स्थानीय सरकारले सहुलियत ऋणको पनि व्यवस्था गरेको बताए । उनले युवा जनशक्तिलाई कृषिमा लगाउन पहल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्