सबै स्थानीय तहमा बैंकिङ सेवा

भोजपुर- भोजपुरका सबै स्थानीय तहमा बैंकिङ सुविधा विस्तार भएको छ । योसँगै सुरक्षाका लागि प्रहरी चौकी स्थापनाको प्रक्रिया अघि बढाइएको छ । संघीय संरचनाअनुसार सरकारी, गैरसरकारी कार्यालय र तिनका सेवा स्थानीय तह केन्द्रित भएपछि आर्थिक कारोबारका लागि नेपाल राष्ट्र बैंकको नीतिअनुरूप बैंकहरू स्थानीय तहमा गएर सेवा दिन थालेका हुन् ।
बैंकमा सुरक्षाका लागि तत्कालका रामप्रसाद राई, साल्पासिलिछो र पौवादुङमा गाउँपालिकाका केन्द्रमा अस्थायी प्रहरी चौकी स्थापनाको प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । जिल्ला सुरक्षा समितिको बैठक बसी ती केन्द्रमा तत्कालका लागि अस्थायी प्रहरी चौकी स्वीकृतिका लागि माग गरी गृह मन्त्रालयमा लेखि पठाइएको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताइन् । उनका अनुसार ती स्थानमा भौगोलिक विकटतासँगै सुरक्षाको हिसाबले संवेदनशील रहेकाले अस्थायी नै भए पनि प्रहरी चौकी स्थापना गर्नुपर्ने छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरले पनि जिल्लाका सबै स्थानीय तहको केन्द्रमा स्थापित र स्थापना हुने तरखरमा रहेका सरकारी तथा निजी बैंकको सुरक्षाका लागि अस्थायी प्रहरी चौकी स्थापनामा आवश्यक लेखापढी भइसकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुका अनुसार स्थापित बैंकका लागि अस्थायी प्रहरी चौकी राख्न अन्य ईलाका प्रहरी चौकीमार्फत अन्य दरबन्दीका प्रहरीलाई ल्याएर जेनतेन सुरक्षा व्यवस्था मिलाइएको छ । “पर्याप्त प्रहरी जनशक्ति नभए पनि स्थानीय तहको केन्द्रमा स्थापना गरिएका बैंकहरूको २४ घण्टे सुरक्षाका लागि अन्य ईलाका प्रहरी चौकीबाट जेनतेन सुरक्षाकर्मी ल्याएर सुरक्षा व्यवस्था मिलाएका छौं,” उनले भने ।
साल्पासिलिछो गाउँपालिकालाई सुरक्षाको हिसाबले संवेदनशील क्षेत्रका रुपमा लिइएको छ । गाउँपालिकाको केन्द्र चौकीडाँडामा स्थापित नेपाल बंगलादेश बैंकको शाखा र गाउँपालिकाको कार्यालयको सुरक्षाका लागि तत्कालका लागि त्यहाँ प्रहरी परिचालन गरिएको र पछि केन्द्रमै प्रहरी चौकी राख्ने गरी सुरक्षा व्यवस्थाको तयारी भइरहेको डिएसपी थारुको भनाइ छ ।
दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तहमध्ये साल्पासिलिछो गाउँपालिकामा नेपाल बंगलादेश बैंक गत वैशाख २५ गते स्थापना भएको छ भने वैशाख २७ गते नै रामप्रसाद राई गाउँपालिकामा एनआईसी एसिया बैंकको शाखा विस्तार भएको छ । जिल्लाका अन्य स्थानीय तहमा शाखारहितका निजी बैंकहरू स्थापना भएका छन् ।