बजेट घटेसँगै बिरुवा उत्पादन आधा घटने «
Logo

बजेट घटेसँगै बिरुवा उत्पादन आधा घटने

रौतहट जिल्ला वन कार्यालयमा बिरुवा उत्पादनका लागि आउने गरेको बजेट रकम घटेसँगै बिरुवा उत्पादन पनि घट्ने भएको छ । वन कार्यालयले हरेक वर्ष उत्पादन गर्दै जिल्लावासीलाई बितरण गर्दै आएको विभिन्न प्रजातिका बिरुवा विगतको वर्षभन्दा यस वर्ष बिरुवा उत्पादन आधाभन्दा बढी घट्ने भएको छ ।
गत वर्ष १० लाखभन्दा बढी विभिन्न जातको बिरुवा उत्पादन गरेको जिल्ला वन कार्यालय रौतहटले यस वर्ष ४ लाख ५० हजारमात्रै बिरूवा उत्पादन गर्ने लक्ष्य रहेको जनाएको छ । गत वर्ष जिल्ला कार्यालयले आपूmले करिब ५ लाख बिरुवा उत्पादन गरेको र विभिन्न निजी नर्सरीबाट ५ लाख गरी १० लाख बिरूवा उत्पादन गरेर उपभोक्तालाई वितरण गरेको जिल्ला वन कार्यालय रौतहटले यस वर्ष बजेट कम भएकाले थोरै मात्रै बिरूवा उत्पादन गरेको जिल्ला वन कार्यालय रौतहटका जिल्ला वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिए । वन अधिकृत कोइरालाका अनुसार गत वर्ष बहुसरोकारका कार्यक्रम भएकाले बिरुवा उत्पादन धेरै गरिएको भए पनि यस वर्षदेखि बिरुवा उत्पादनको बजेट स्थानीय तहमा गएकाले जिल्ला वन कार्यालयमा बजेट कम भएको उनले जानकारी दिए ।
स्थानीय तहमा बिरुवा उत्पादनका लागि रकम गएको भए पनि बिरुवा उत्पादन गर्न नसक्दा यस वर्ष उपभोक्ताले बिरुवा पाउने सम्भावना पनि कम भएको छ । १० लाख बिरुवा उत्पादन गरेर वितरण गर्दा समेत बिरुवा नपुगेको अवस्थामा अब कसरी उपभोक्ताले सहज बिरुवा पाउँछन् स्थानीय राजु बस्नेतले दुःखेसो पोखे । यतिखेर बिरुवा उत्पादनबारे कटहरिया र गुजरा नगरपालिकाले मात्र जिल्ला वन कार्यालय रौतहटमा समन्वय गर्न आएको जिल्ला वन कार्यालय रौतहटले जनाएको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्र्तरगत २ लाख र वनदशक कार्यक्रमअन्तर्गत २ लाख ५० हजार गरी ४ लाख ५० हजार बिरुवा उत्पादन भइरहेको जिल्ला वन कार्यालय विकास शाखाका प्रमुख सहायक वन अधिकृत अखिलेशकुमार गुप्ताले जानकारी दिए । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत जिल्ला वन कार्यालयको नर्सरी चन्द्रनिगाहपुरमा १ लाख र जंगलसहिया इलाका वन कार्यालयको नर्सरीमा १ लाख बिरुवा उत्पादन भएको गुप्ताले जानकारी दिए । त्यसैगरी वनदशक कार्यक्रमअन्तर्गत २ लाख बिरुवा खरिद र ५० हजार गौर नर्सरीमा बिरुवा उत्पादन हुँदै गरेको उनले बताए ।
यो उत्पादन स्थानीय उपभोक्ता र सामुदायिक वनको मागअनुसार ज्यादै कम हो । कार्यालयले प्राय मल्टिपर्पोज खालका बकाइनो, बडहर, टाँकी, मसलालगायतका बिरुवा उत्पादन गर्दै आएको छ । जिल्लाको अतिक्रमित क्षेत्र तथा चुरे क्षेत्रमा वृक्षारोपण गर्ने लक्ष्यका साथ बिरुवा रोपिएको हो । जिल्लाको विभिन्न सामुदायिक वन, निजी वन, राष्ट्रिय वनमा बिरुवा रोप्ने लक्ष्य रहेको वन अधिकृत कोइरालाले जानकारी दिए ।
सुब्बा कार्की

प्रतिक्रिया दिनुहोस्