प्रदेश सरकारद्वारा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत «

प्रदेश सरकारद्वारा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

प्रदेश नम्बर १ को वर्षे अधिवेशन सुरु भएको छ । गत वैशाख २८ गते हिउँदे अधिवेशन अन्त्य भएको थियो ।
वर्षे अधिवेशनमा विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले पार्टीगत आस्थाका आधारमा सरकारले कार्यकर्तालाई धरपकड सुरु भएको भन्दै आपत्ति जनाए । उनले सुनसरीका नेपाल तरुण दलका सभापति तथा कांग्रेसका महासमिति सदस्य सिजन गुरुङलाई मध्यरातमा बिना कारण पक्राउ गरेको भन्दै सरकारको जवाफ माग गरे । यसअघि बैठकको शून्य समयमा बोल्दै सांसद इन्दीरा राईले महिलालाई मन्त्रिपरिषद्मा सहभागी गराउनुपर्ने माग गरिन् ।
यसैबीच, १ नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताहरू प्रदेश संसदसमक्ष प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले संसदको वर्षे अधिवेशनको पहिलो बैठकमा विनियोजन विधेयक २०७५ का सिद्धान्त र प्राथमिकता पेश गरेका हुन् । प्रदेश सरकारका योजनाहरू सार्वजनिक गर्दै मन्त्री आङ्बोले प्रदेश सरकारको दीर्घकालीन उद्देश्य ‘समृद्ध प्रदेश, सुखी प्रदेशवासी’ भन्ने नारालाई कार्यान्वयन गरिने बताए । उनले सरकारी खर्च तथा सेवा प्रवाहमा भ्रष्टाचारको शून्य सहनशिलताको सिद्धान्तलाई अंगीकार गर्दै आवश्यक पूर्वाधार निर्माणमा जोड दिइने उल्लेख छ । यस्तै उनले ऊर्जा विकास, वित्तीय सुशासनका लागि पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गरिने उल्लेख गरे ।
यस्तै मन्त्री आङ्बोले खाद्यान्नबाट आत्मनिर्भर बनाउन प्रदेशमा प्रमुख खाद्यान्न बालीहरूको उत्पादन, प्रशोधनलगायत, अण्डा, माछामासु, तथा दूधमा आत्मनिर्भर हुने र आयात प्रतिस्थापन गर्ने बताए । प्राथमिकतामा प्रदेशभित्र रहेका कृषियोग्य जमिनलाई सिँचाइ सुविधा उपलब्ध गराउन ‘खोलामाथिको गरा सधैं हराभरा’ भन्ने नारा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्