युवाको नेतृत्वमा लक्ष्यभन्दा बढी काम «

युवाको नेतृत्वमा लक्ष्यभन्दा बढी काम

म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा उपभोक्ता समितिले सडक निर्माण योजनामा लक्ष्यभन्दा बढी परिणामको काम गरेका छन् ।
गाउँपालिकाद्वारा चालू आवमा सञ्चालित मुना–दर–मुदी सडक आयोजनाको ट्रयाक खोल्ने क्रममा उपभोक्ता समितिले लक्ष्यभन्दा बढी काम गरेका हुन् । ३ र ४ नम्बर वडाको सीमा क्षेत्रमा पर्ने सिम्बाङ भीर क्षेत्रमा सात सय मिटर ट्रयाक खन्ने सम्झौता भएकोमा नौ सय मिटर सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष विजय घर्ती मगरले बताए ।
अध्यक्ष मगरका अनुसार योजना सम्झौता गर्नुपूर्व प्राविधिकले गरेको सर्वेक्षण र तयार पारेको लागत पूर्वअनुमानअनुसारको परिणामको काम सकिएपछि बचेको बजेटबाट थप दुई सय मिटर सडकको ट्रयाक खन्ने काम गरिएको हो ।
अक्करे भीरमा कडा चट्टान काटेर सडक निर्माण गर्नुपर्ने उक्त योजनाका लागि गाउँपालिकाले चालू आवमा ८६ लाख ४० हजार रुपैयाँ विनियोजन गरेको थियो । नयाँ ट्रयाक निर्माणका साथै पहिले निर्माण भएको सडकको मर्मतका लागि सञ्चालित उक्त योजनामा उपभोक्ताको तर्फबाट नौ लाख ६२ हजार ८०४ रुपैयाँ बराबरको श्रम तथा नगद लगानी भएको छ ।
उपभोक्ता समितिले एक्साभेटर भाडामा लिएर निर्माण गरेको सडकको चौडाइ सातदेखि १० मिटर फराकिलो छ । २० वर्षीय मगर अध्यक्ष रहेको समितिमा अधिकांश ४० वर्षभन्दा कम उमेरका युवा आबद्ध छन् । पारदर्शी र प्रभावकारी रूपमा लक्ष्यभन्दा बढी काम गरेर मुदीका युवाले नमुना काम गरेको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।
गत वर्ष जिल्ला समन्वय समितिको विभिन्न तीनवटा शीर्षकमा ८२ लाख रुपैयाँ अनुदानमा गाउँपालिकाको ३ नम्बर वडामा पर्ने मुनादेखि दर, धितछहरा हुँदै सिम्बाङसम्म सडक पुराइएको थियो । कम्तीमा थप दुई किमि ट्रयाक निर्माण भएपछि सडकले धौलागिरि गाउँपालिका–४ मा पर्ने मुदी गाउँलाई छुनेछ । हाल सिम्बाङसम्म नै जिप, ट्याक्सी, ट्रयाक्टर, माइक्रोबस पुग्न थालेका छन् । आगामी वर्ष गाउँपालिकाबाट थप बजेट बिनियोजन गरेर मुदीसम्म सडक पुराउने योजना रहेको अध्यक्ष थमसरा पुनले बताए ।
सो सडकबाट मुदी, खिवाङ, नेरवाङ, बगर, नाउरा, चेचुङलगायत बस्तीका पाँच सय घरधुरी लाभान्वित हुने वडाध्यक्ष बेगप्रसाद घर्तीले बताए । उनका अनुसार स्थानीय बासिन्दा, धौलागिरि आरोहण र पदयात्रामा जाने पर्यटकलाई आवत जावतका साथै सामान ढुवानी र त्यहाँ उत्पादित कृषि उपज, जडिबुटी निकासी गर्न सहज हुने अपेक्षा गरिएको छ ।
सन्तोष गौतम

प्रतिक्रिया दिनुहोस्