ठमेलमा होटल नेपाली घर

काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा विशिष्ट विशेषता सहितको होटल खुलेको छ । नेपाली घर होटल जेठ १६ गते बुधबारबाट औपचारिक सञ्चालनमा आएको हो । होटलको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले गरेका हुन् । करिब ४ बर्षको लागत समयमा ५ तल्ले पर्यटक स्तरिय होटल निमार्ण सम्पन्न भएको हो । काठमाण्डौको पर्यटकिय क्षेत्र ठमेलमा अवस्थित यस होटलमा नेपालीकला र संस्कृतीको पहिचान सहित अघि बढाउने उद्देश्य रहेको होटलका प्रबन्ध निर्देशक राजु श्रेष्ठले बताए । यस होटलको बाहिरी बनावट परम्परागत नेपाली शैलीमा र भित्री बनावट प्यागोडा शैलीमा तयार गरिएको छ । स्थानीय शिल्पीहरुले विशुद्ध नेपाली शैलीमा आर्कषक सजावट गरिएको छ । होटलका आवश्यक सरसमानमा नेपाली बजार प्रर्बद्धन गर्ने उदेश्यले ग्रामिण भेगका महिलाहरुले तयार गरेका कलासिपहरुलाई प्राथमिकताका साथ प्रयोगमा ल्याएको छ । पाहुनालाई अत्याधुनिक सुविधा, नेपाली जीवनशैली र परम्परासँग साक्षात्कार गराउने लक्ष्य होटलले लिएको छ । अत्याधुनिक प्रविधिले सुसज्जित होटलमा पाँचतारे होटल सरह सुविधाहरु उपलब्ध छन् ।