अहिलेकै मोडेलमा बूढीगण्डकी परियोजना सम्भव छैन «

अहिलेकै मोडेलमा बूढीगण्डकी परियोजना सम्भव छैन

ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले अहिलेकै मोडेलमा नेपालले बूढीगण्डकी परियोजना बनाउन नसक्ने ठोकुवा गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रधानले यस्तो दाबी गरेका हुन् ।
उनले बूढीगण्डकीको अहिलेको ड्यामको उचाइ अग्लो भएकाले यसको उचाइ घटाउनका लागि डिजाइन परिवर्तन गर्नुपर्नेमा जोड दिए । उक्त परियोजना १२ सय मेगावाटबाट घटाएर ७८० मेगावाटको मात्रै बनाउनुपर्ने उनको भनाइ छ । उनले भने, “बूढीगण्डकी परियोजना रोक्नु हुँदैन, यसलाई अगाडि बढाउनुपर्छ, तर रि–डिजाइन गर्नुपर्छ, रि–डिजाइन नगरे यो प्रोजेक्ट हाइड्रो बम बन्नसक्छ, डिजाइन परिवर्तन गरियो भने १.७ विलियनमै बन्न सक्छ ।”
प्रधानले ‘संघीयतामा जलविद्युत्को अपरिहार्यता’ शीर्षकमा नयाँ अवधारणासमेत सार्वजनिक गरेका छन् । उनले ७ प्रदेशमध्ये २ नम्बर प्रदेशबाहेक सबै प्रदेशमा प्रचुरमात्रामा जलस्रोत विकासको सम्भावना रहेको औंल्याएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली छिट्टै चीन भ्रमणमा जाने भएकाले जलविद्युत् विकासका लागि एक प्रदेश एक परियोजना लिएर जानुपर्ने प्रधानमन्त्रीको सुझाव छ । उनले भने, “नेपालले आफ्नो पुँजीले मात्रै जलविद्युत्को विकास गर्न सक्दैन्, चीन पैसा दिन तयार छ, हामीले प्रस्ताव लिएर जानुपर्यो, प्रधानमन्त्री चीन जाने दिन आइसक्यो, तर हामीसँग तयारी केही पनि छैन् ।” प्रत्येक प्रदेशले करिब ५०० मेगावाटका आयोजना छनोट गरी निर्माण गर्न सक्ने भए झण्डै २७५० मेगावाटको थप विद्युत् ऊर्जा उपलब्ध हुनसक्ने उनको दाबी छ ।

 

 

प्रतिक्रिया दिनुहोस्