नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा बजेटको स्वागत «

नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा बजेटको स्वागत

नेपाल घरेलु तथा साना उद्योग महासंघले आर्थिक वर्ष ०७५/७६ को बजेटलाई स्वागत गरेको छ । औद्योगीकरणका लागि पर्याप्त कसरत गरिएको भएता पनि औद्योगीकरणलाई स्पष्ट सम्बोधन नभएको ठहर गर्दै महासंघले समग्रमा बजेट सकारात्मक रहेको र विगतका अनुभवबाट यस्को कार्यान्वयन चुनौतीपूर्ण रहेको जनाएको छ ।
महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले चुनावताका वर्तमान राजनीतिक दलहरूको संयुक्त घोषणा पत्रमार्फत सार्वजनिक गरिएको मुलुकलाई तीव्र आर्थिक विकासमा लैजाने कार्यक्रमहरूलाई जनआकांक्षा अनुरूप बजेटले सम्बोधन गर्न नसकेको बताए । बजेट पूर्णरूपमा कार्यान्वयनमा आउन सके मुलुकको वित्तीय अनुशासन कायम गर्न सफल हुने र दिगो आर्थिक विकासका लागि आधारभूमि खडा गर्न सक्ने उनको भनाइ छ । उद्यमशीलता, रोजगार र उद्योगको क्षेत्रमा केही सकारात्मक कार्यक्रमहरू अगाडि सारेको बजेटले उत्पादनमूलक झन्डै २ लाख ९० हजारको हाराहारीमा रहेका घरेलु तथा साना उद्योगलाई पुनरउत्थान तथा स्तरोन्नती गरी मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुराउन सक्ने सम्भावनालाई सम्बोधन गर्न नसकेको महासंघको गुनासो छ । यसबाट बजेटमार्फत लिइएको ८ प्रतिशत आर्थिक वृद्धि र थप ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य प्राप्त गर्न सम्भव नदेखिएको महासंघको भनाइ छ । महासंघ यसै बजेट प्रतिक्रियामार्फत नेपाल सरकारलाई उपयुक्त माद्रिक नीतिमार्फत उत्पादनमूलक उद्योगलाई सम्बोधन गर्न आग्रह गरेको छ ।
निजी क्षेत्रको सहकार्यमा प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र, एक आर्थिक क्षेत्र, एक विशेष आर्थिक क्षेत्र स्थापना गर्ने व्यवस्थाको स्वागत गर्दै महासंघले निजी क्षेत्रको सहभागितामा सबै स्थानीय तहमा तीन वष भित्र उद्योग ग्राम स्थापना गर्ने व्यवस्था पनि स्वागतयोग्य रहेको जनाएको छ । यस आर्थिक वर्षमा प्रतिप्रदेश कम्तीमा २० स्थानीय तहमा उद्योग ग्राम स्थापना गर्न बजेट विनियोजनको व्यवस्थाका साथै बन्द र रुग्ण उद्योग सहकारी र निजी क्षेत्रको साझेदारीमा सम्भाव्यताका आधारमा सञ्चालन गर्ने व्यवस्था सकारात्मक भएको महासंघले जनाएको छ ।
महासंघले आठ प्रतिशतको आर्थिक वृद्धि र पाँच लाख थप रोजगारी सिर्जना गर्न उत्पादनमूलक क्षेत्रमा प्रभावकारी कार्यक्रमसहित स्पष्ट दिशा निर्देश गर्नुपर्नेमा जोड दिँदै हाल सञ्चालनमा रहेका २ लाख ९० हजार हाराहारीका घरेलु तथा साना उद्योगहरूलाई स्तरोन्नतिका लागि लगानी पहुँच अभिवृद्धि गर्न प्राथमिकता प्राप्त कर्जा अन्तरगत कुल कर्जा प्रवाहको न्यूनतम २५ प्रतिशत पुराइ सरलीकृत कर्जा प्रवाहको कार्यविधि तयार गरी पुँजी पहुँच अभिवृद्धि गर्नुपर्नेमा जोड दिएको छ । विपन्न वर्ग कर्जा कार्यक्रमलाई लघु उद्यमसँग आबद्ध गराई लघु उद्यममा पुँजी पहँुच अभिवृद्धि गर्नुपर्ने भन्दै महासंघले लघु घरेलु तथा साना उद्योगमा वित्तिय पहुँच बढाउन उद्योगका, मिल मेसिनरी घर टहराहरूको रजिष्ट्री गरी प्रमाणपत्र दिने व्यवस्था र सो प्रमाण पत्रलाई धितो मानी ऋण दिने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्