ताम्राकारमा ‘स्क्रीन एस्युरेन्स’ सेवा «

ताम्राकारमा ‘स्क्रीन एस्युरेन्स’ सेवा

 राजधानीको ताम्राकार मोबाइल कम्प्लेक्सस्थित इजी मोबाइल केयर प्रालिले स्क्रीन एस्युरेन्स सेवा सुरु गरेको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले ग्राहकले मोबाइल लिएको एक वर्षभित्र स्क्रीन फुटेमा सित्तैमा फेरिदिने यो सेवा सुरु गरेको जनाएको छ ।
कम्पनीका अध्यक्ष सञ्जित पौडेलले नेपालमा दूर्घटनाबस डिस्प्ले फुट्ने समस्याहरु धेरै पाइने गरेकाले ग्राहकको सुविधाको लागि यस्तो सेवा सुरु गरेको बताएका छन् । “हामीकहाँ स्मार्टफोन मर्मत गर्न आउने अधिकांश मोबाइल फोन प्रयोगकर्ताहरुले डिस्प्ले फुटेको समस्या हुने गरेको छ,” पौडेललाई उदृत गर्दै प्रेस विज्ञप्तिमा भनिएको छ, “डिस्प्ले फेर्न निकै महँगो खर्च तिर्नुपर्ने हुन्छ, एस्यूरेन्स सेवा लिने ग्राहकहरुको मोबाइल डिस्प्ले निशुल्क फेरिदिनेछौं ।” इजी मोबाइल केयरले नेपालमै पहिलो पटक यस्तो सेवा दिएको दाबी गरेको छ ।
इसुरेन्स सेवा इजी सर्भिसको राजधानी र अन्य आधिकारिक सर्भिस सेन्टरबाट उपलब्ध रहेको जनाइएको छ । “कुनै पनि ब्राण्डको मोबाइलको डिस्प्लेको एसुरेन्स सेवा ईजी सर्भिस र ईजी सर्भिसको आधिकारिक सेवा प्रदायकबाट गराउन सक्नेछन्” विज्ञप्तिमा भनिएको छ, “यस्तो सेवा नयाँ मोबाइल किनेको एक महिना भित्र सुचारु गरिसक्नुपर्नेछ साथै कम्पनीले आगामी दिनहरुमा पूराना मोबाइल फोनहरुमा पनि यो योजना ल्याउने तयारी गरेको छ ।” यो सेवा लिईसकेपछि ग्राहकहरुको फोनको डिस्प्ले फुटेमा (मोबाइल डिस्प्ले ब्रेकेज) एक पटकका लागि कम्पनीले निःशुल्क रुपमा फेरिदिने सुविधा छ ।
मोबाइल फोन ग्राहकहरुले यसको लागि आफ्नो व्यक्तिगत विबरणसहितको फर्म भरेर तुरुन्तै सो सेवा लिनसक्ने छन् । सो सेवा लिएको १ वर्षभित्र ग्राहकहरुको मोबाइल फोनको डिस्प्ले फुटेमा कम्पनीले एक पटकका लागि निशुल्करुपमा फेरिदिनेछ । कम्पनीले आगामी दिनमा पानीमा परेर मोबाइल बिग्रने समस्या तथा हराएको वा चोरी भएका मोबाइल फोनहरुको लागि समेत एस्यूरेन्स योजना ल्याउने तयारी रहेको जनाएको छ । हाल उपत्यकामा मात्र रहेको यो सेवा मुलकभर लैजाने योजना रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्