प्याराग्लाइडिङमा सुरक्षा उल्लंघन गर्ने पाइलट र कम्पनीमाथि फौजदारी मुद्दा «

प्याराग्लाइडिङमा सुरक्षा उल्लंघन गर्ने पाइलट र कम्पनीमाथि फौजदारी मुद्दा

पर्यटकीय नगरी पोखरामा साहसिक खेल प्याराग्लाइडिङ गर्दा पटक–पटक जोखिम बढेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाअकषर्ण भएको छ । प्याराग्लाइडिङ पाइलट र कम्पनीले प्याराग्लाइडिङ गर्दा सुरक्षा र नियम उल्लंघन गरे उनीहरू माथि फौजदारी मुद्दा चलाउन मन्त्रालयले परिपत्र गरेको छ ।
पोखरामा प्याराग्लाइडिङ उडान भर्ने धेरै चिनियाँ पर्यटकहरू पटक–पटक दुर्घटनामा परेपछि नेपालस्थित चिनियाँ राजदूत आफै मन्त्रालयमा उपस्थित भएर पर्यटनमन्त्री रवीन्द्र अधिकारी र सचिव कृष्ण देवकोटालाई ध्यानाकर्षण गराएसँगै मन्त्रालय गम्भीर भएको हो । चिनियाँ राजदूत स्वयं उपस्थित भएर सुरक्षा र व्यवस्थापकीय कमजोरी हटाउन आग्रह गरेपछि मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै उक्त निर्णय गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय, नागरिक उड्डयन कार्यालय पोखरा, नेफा र नेपाल हवाई खेलकुद संस्था नालाई बोधार्थ गरी पठाएको परिपत्रमा प्याराग्लाइडिङ उडान भर्ने कम्पनीको सञ्चालनपत्र वैधता छानबिन गर्न र अवैध कम्पनीले उडान भरेमा प्रचलित फौजदारी कानुनअन्तर्गत सञ्चालक तथा पाइलटलाई कारबाही गर्न भनिएको छ । त्यसैगरी परिपत्रमा उडान सुरक्षा लाई दृष्टिगत गरी एक कम्पनीलाई दैनिक दुई उडान गर्न अनुमति दिइएको छ ।
चिनियाँ राजदूतवासको वेबसाइटमा नै पोखराको प्याराग्लाइडिङबारे सूचना जारी गर्दै आफ्ना नागरिकहरू उच्च जोखिममा रहेको उल्लेख गरेको बताइन्छ । सूचनामा धेरै जनताको बहुमूल्य सामान र मोबाइलसमेत उडानका क्रममा खस्ने गरेको तथा उडान भर्दा र ल्यान्डिङ गर्दासमेत दुर्घटनामा परेको जनाइएको छ । पोखरामा करिब ६० कम्पनीबाट दैनिक उडान भर्ने करिब ३ सयदेखि ४ सय उडानमा अहिले पनि ५० प्रतिशत चिनियाँ पर्यटक हुने गरेको नेपाल प्याराग्लाइडिङ तथा ह्याङ ग्लाइडिङ संघ (नेफा) का महासचिव शैलेन्द्र राउतले बताए ।
सो परिपत्रबारे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक ओमबहादुर रानाले आफ्ना मातहतका सबै प्रहरी कार्यालयहरूमा जानकारी गराइसकेको बताए । परिपत्रअनुसार कुनै पनि कम्पनी वा पाइलटले नियम उल्लंघन गरेको पाइएमा तुरुन्तै कारबाही गरी पक्राउ गर्न निर्देशन दिएको समेत उनले बताए ।
नेपालमा प्याराग्लाइडिङलाई थप व्यवस्थित बनाउन तथा दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न संस्कृति तथा पर्यटन उड्डयन मन्त्रालयको सचिवको अध्यक्षता प्याराग्लाइडिङ निर्देशिका तयारी समिति गठन गरिएको छ भने क्यानका हवाई सुरक्षा उपनिर्देशक राजु श्रेष्ठको अध्यक्षतामा ड्राफ्ट कमिटी बनाइएको छ । लामो समयदेखि व्यवसायीले उठाउँदै आएको प्याराग्लाइडिङ निर्देशिका चाँडै नै आउने भएपछि अधिकांश व्यवसायी खुसी भएको छन् । पोखरामा प्याराग्लाइडिङ सञ्चालन गर्ने कम्पनीहरू निर्देशिकाको अभावमा बिचौलियका कारण मारमा पर्दै आएका छन् । बिचौलियाले एक जना ग्राहकसँग १२ हजारसम्म लिने तर व्यवसायीले बिचौलियामार्फत व्यवसाय गर्दा ४ देखि ५ हजार लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्