बिमा कार्यक्रममा सवा लाख महिला सहभागी

आर्थिक रूपमा पुरुषप्रति निर्भर रहँदै आएका महिलाहरू सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा भने अग्रपंक्तिमा देखिएका छन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७३-७४ को अन्त्यसम्ममा १ लाख २० हजार २ सय ७७ महिला सहभागीले बिमा सदस्यता लिएका छन् ।
तथ्यांकअनुसार गत आवमा २ लाख २८ हजार १ सय १३ जना सहभागी भएका छन् । यो संख्या कुल बसोबास गर्ने जनसंख्याको करिब ५ प्रतिशत मात्रै हो भने कुल विमित संख्यामध्ये महिलाको उपस्थिति करिब ५३ प्रतिशत रहेको छ । त्यस्तै, कार्यक्रममा सहभागी हुने पुरुषको संख्या भने १ लाख ७ हजार ८०५ रहेको छ । प्राविधिकको त्रुटिका कारण ३१ जना भने अन्य समूहमा परेका छन् ।
कार्यक्रम सञ्चालन भएका जिल्लामध्ये बाग्लुङ, पाल्पा, तनहुँ र गोरखामा महिला सहभागी संख्या बढी छ । समितिको तथ्यांकअनुसार बाग्लुङमा १५ हजार ४९५ मानिस कार्यक्रममा सहभागी भएका छन् जसमध्ये ८ हजार ४६५ महिला सहभागी छन् । यो संख्या कुल सहभागी संख्याको करिब ५५ प्रतिशत हो । त्यस्तै, पाल्पामा पनि करिब ५४ प्रतिशत महिला सहभागिता छ । कुल ३९ हजार ६९९ जनाको सहभागीता रहेको पाल्पामा महिला सहभागीता संख्या २१ हजार ४ सय ४४ छ । तनहुँमा भने बिमा कार्यक्रममा ४ हजार ५ सय ५३ महिलाले सदस्यता लिएका छन् ।
नेपालमा तुलनात्मक रूपमा महिलाको जनसंख्या बढी छ । त्यसैले पनि महिला सहभागिता अधिक देखिएको हुन सक्ने समितिका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेलले बताए । साथै बिमा दर्ता गर्दा परिवारको सदस्य अनिवार्य रुपमा उपस्थित हुनुपर्छ । तर, धेरै नेपाली पुरुषहरू वैदेशिक रोजगारीका लागि घर बाहिर हुने भएकाले पनि पुरुषको सहभागिता कम भएको हुन सक्ने उनले बताए ।
तर, जाजरकोट र बैतडीमा भने पुरुषको संख्या बढी देखिएको छ । बैतडीमा ३ हजार १४० जना मानिस कार्यक्रममा सहभागी छन् जसमध्ये महिलाको संख्या १ हजार ५५६ मात्र छ । यो संख्या कुल सहभागी संख्याको ४९ प्रतिशत हो । त्यस्तै, जाजरकोटमा २ हजार ९ सय २९ सहभागीमध्ये १ हजार ४ सय ५४ महिला सहभागी संख्या छ ।
त्यस्तै १५ जिल्लामा १ हजार २ सय २४ दर्ता सहयोगी खटिएका छन् । समितिले भने दर्ता सहयोगीका लागी १ हजार २ सय ८७ मध्ये छनोट गरेको थियो जसमध्ये ८२ जनाले एउटा पनि बिमा दर्ता गराउन सकेनन् । ५४ जनाले राजीनामा दिएका छन् । ७ जना भने छनौट हुन बाँकी छन् । दर्ता सहयोगीले छ महिनासम्म एक घरपरिवार पनि दर्ता गराउन नसकेकामा निज सँग गरिएको सम्झौता स्वतः खारेज भएको मानिनेछ । सम्झौता खारेज भएकाहरू तथा राजीनामा गरेकाहरूबाट जिन्सी र नगद बुझबुझारथ गराउनुपर्छ ।