वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन आइएलओलाई आग्रह

काठमाडौंः श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का महानिर्देशक गुये राईडरलाई आग्रह गरेका छन् ।
नेपालमा वर्षमा पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्ने तर रोजगारीका लागि पर्याप्त अवसर नहुँदा विदेशिन बाध्य भएको बताउँदै वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन आइएलओको थप सहयोगका लागि मन्त्री गुरुङले आग्रह गरेका हुन् ।
नेपाल भ्रमणमा रहेको महासचिव राईडरसँगको भेटमा मन्त्री गुरुङले यस्तो आग्रह गरेका हुन् । भेटमा श्रमसम्बन्धी अन्तर्राष्ट्रिय विषयमा साझा धारणा बनाउने सहमति भएको बताइएको छ ।
महानिर्देशक गाई राईडरले श्रमलाई सुरक्षित र मर्यादित बनाउन नेपालले चाल्दै आएको कदमप्रति सराहना व्यक्त गर्दै त्यसमा आइएलओको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे । वैदेशिक रोजगारीलाई सुरक्षित गराउन गन्तव्य मुलुकसँग श्रम सम्झौतालाई नेपालले प्राथमिकता दिनुपर्ने उनले सुझाव दिए ।