मृतक कामदारका परिवारलाई आवासीय शिक्षा

सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका, अंगभंग वा गम्भीर बिरामी भएकाका परिवारलाई निर्वाह खर्चसहित प्राविधिक शिक्षा र व्यावसायिक तालिम दिने व्यवस्थाको सुरुवात गरेकोे छ ।
केही महिनाअघि विदेशमा मृत्यु, अंगभंग र गम्भीर बिरामी भएका कामदारका परिवारलाई दोब्बरभन्दा बढी क्षतिपूति रकम बढाएको सरकारले त्यस्ता परिवारका लागि आवासीय सुविधासहितको ३ वर्षे प्राविधिक शिक्षा र १ वर्षे व्यावसायिक तालिमको व्यवस्था गरेको हो । चालू आर्थिक वर्षदेखि सुरु हुने यो कार्यक्रमको पहिलो चरण ३ सय २० जना मृतकका परिवारका सदस्यले यो सुविधा पाउने छन् ।
वैदेशिक रोजगार प्रबद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले वैदेशिक रोजगारीका सिलसिलामा मृत्यु भएका र बिरामी भएकाका परिवारका सदस्यलार्ई अध्ययन अवधीभर बस्ने, खाने, पोसाक खर्च र वर्षमा एक पटक घर बिदाका लागि यातायात खर्चसहितको शैक्षिक सुविधा सुरु गरिएको बताए । बोर्डले कामदार कल्याणकारी कोषमार्पmत पीडित कामदारका परिवारको योग्यताअनुसार आवास तथा निर्वाह खर्चसमेत बेहोरेर प्राविधिक शिक्षा दिने निर्णय गरेको हो । विगत लामो समयको गृहकार्यपछि सरकारले यही आर्थिक वर्षको अन्त्यबाट २ वटा कार्यक्रमअन्तर्गत ३ सय २० जनालाई आवाससहित शिक्षा तथा तालिम दिने भएको हो । सरकारले विदेशमा मृत्यु भएका, अंगभंग वा गम्भीर बिरामी भएकाका परिवारका सदस्यलार्ई क्षतिपूर्ति, शैक्षिक कार्यक्रमलगायतका विभिन्न सुविधा थप गर्दै लगेको छ ।
सरकारले थप गरेको सुविधाअनुसार अबदेखि विदेशमा मृत्यु भएका कामदारका परिवारका सदस्यले ३ वर्षे डिप्लोमा कोर्स र १ वर्षे पेसागत तालिम लिन पाउने छन् । पहिलो चरणमा एसईई वा सो सरह परीक्षा उत्तीर्ण गरेका १२० जना परिवारका सदस्यले आवाससहितको नर्सिङ, इन्जिनियरिङ, र कृषि विषयमा अध्ययन गर्न पाउने वैदेशिक रोजगार प्रबद्र्धन बोर्डका कार्यकारी निर्देशक काफ्लेले बताए । यसरी नै साधारण लेखपढ गर्न सक्ने २०० जनालाई मोटरसाइकल मेकानिक, वेल्डर, प्लम्बर, कार्पेन्टर, कुक, मेसन, अल्मुनियम फेब्रिकेसन वा बिल्डिङ इलेक्ट्रिकल विषयमा पनि एक वर्षे आवासीय तालिम दिने जनाइएको छ । विदेशमा रोजगारीका क्रममा घाइते वा मृत्यु भई जीवनयापन गर्न असमर्थ हुने नागरिकका परिवारलाई आवाससहितको सम्पूर्ण खर्च बेहोरेर प्राविधिक शिक्षा दिने निर्णय भएपछि ६ हजार मृतक परिवारका सदस्यले निःशुल्क अध्ययन गर्न पाउने अवसर खुला भएको छ ।
पहिलो चरणमा ३ सय २० जनाका लागि गुणस्तरीय तालिम र शिक्षा व्यवस्था गर्न बोर्डले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सीटीईभीटी) सँग बुधबार सम्झौता गरेको छ । सम्झौतापत्रमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले र सिटीइभीटीका प्राविधिक महाशाखाका निर्देशक टेकबहादुर मल्लले हस्ताक्षर गरेर कार्यक्रमको शुरुवात गरेका छन् । सम्झौतामा निर्धारित कार्यविधिअनुसार छनोट भएका विद्यार्थीलाई अध्ययन अवधिभर बस्ने, खाने, पोसाक खर्च र वर्षमा एक पटक घरबिदा जान यातायात खर्चसमेत उल्लेख छ । यो सुविधाको आवेदनका लागि बोर्डले केही समयभित्रै सूचना आह्वान गर्ने जनाइएको छ । सीटीईभीटीका प्राविधिक महाशाखाका निर्देशक टेकबहादुर मल्लले विषयगत रूपमा छनोट भएका प्रशिक्षार्थीलाई देशका विभिन्न क्षेत्रमा रहेका प्राविधिक स्कुलमा अध्ययनका लागि व्यवस्था गरिने बताए । अध्ययन अवधीभर सम्पूर्ण खर्च सरकारले बेहोर्ने भएका कारण जुनसुकै क्षेत्रका विद्यार्थी पनि पायक पर्ने क्षेत्रमा बसेर अध्ययन गर्न सक्ने जनाइएको छ ।