गुल्मी महोत्सवको आम्दानी «

गुल्मी महोत्सवको आम्दानी

सम्पन्न भएको झन्डै दुई महिना बितेपछि बल्ल तेस्रो गुल्मी महोत्सवको आयव्यय सार्वजनिक भएको छ । गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा गत वर्ष चैत १६ गतेदेखि २५ गतेसम्म सदरमुकाम तम्घासमा महोत्सव सम्पन्न भएको थियो ।
बुधबार गुल्मी उद्योग वाणिज्य संघ, गुल्मीमा एक कार्यक्रमको आयोजना गरेर महोत्सव सार्वजनिक गरिएको हो । कृषि, पर्यटन तथा उद्योगको व्यापार प्रवद्र्धन गर्न भन्दै १० दिनसम्म चलेको महोत्सवमा १ करोड १६ लाख ८१ हजार ८ सय ५१ रुपैयाँ कुल आम्दानी भएको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए । कुल आम्दानीमध्ये ८१ लाख २५ हजार ६५ रुपयाँ खर्च भएको सर्वजनिक आम्दानी खर्च विवरणमा उल्लेख गरिएको छ ।
महोत्सवबाट कुल रकममध्ये ३५ लाख ५६ हजार ७ सय ८६ रुपयाँ बचत भएको महासचिव भुसालले बताए । महोत्सवमा २३ लाख २३ हजार ६० रुपैयाँ उठ्न बाँकी रहेको आयोजकले जनाएको छ । महोत्सवमा सहयोग गर्ने भनेर घोषणा गरेका सहयोग दाताहरूले रकम भुक्तानी नगरेका कारण सो रकम उठ्न बाँकी रहेको बताइएको हो ।
महोत्सवमा सबैभन्दा बढी सांस्कृतिक कार्यक्रममा खर्च भएको देखिएको छ । महोत्सवको मुख्य आकर्षणका रूपमा रहेको सांस्कृतिक कार्यक्रममा १७ लाख ३० हजार ३ सय ३० रुपयाँ खर्च भएको पाइएको छ । त्यस्तै कम खर्च १७ हजार ६० रुपयाँ टिकट व्यवस्थापनमा खर्च भएको पाइएको छ । महोत्सवमा २ सय ८० वटा स्टल थिए ।
वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको छ । महोत्सवबाट आम्दानी भएको रकममध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत वाणिज्य संघको आम्दानीमा राखिने वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए ।
‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य, कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ महोत्सव सञ्चालनमा थियो । महोत्सवमा गुल्मीमा उत्पादित विभिन्न कृषिजन्य सामग्रीहरूलाई मुख्य प्राथमिकता दिँदै ढिकी, जाँतो, मान्छेबाट कोल घुमाएर चिउरीको घिउ निकाल्ने, उखु पेल्नेलगायत लोपोन्मुख हुन लागेका विभिन्न पुराना सामग्रीहरू प्रदर्शन गरिएको थियो । महोत्सवमा करिब १ लाख दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । मेलामा कुल ६ करोडभन्दा बढीको कारोबार भएको आयोजकको अनुमान थियो ।
जिल्लामा लुकेर रहेका साहित्य, संगीत, कला, कौशल सीपको संरक्षण, संवद्र्धन गर्ने, परम्परागत वेशभूषाहरूलाई उजागर गर्ने उद्देश्यले महोत्सवमार्फत नयाँ प्रतिभालाई प्रोत्साहनस्वरूप यस्ता कार्यक्रम राखिएको महोत्सव मूल आयोजक समिति संयोजक एवं वाणिज्य संघ गुल्मीका अध्यक्ष पाण्डेयले बताए । जिल्लामा रहेका ऐतिहासिक, पौराणिक, धार्मिक एवं पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन र प्रचार–प्रसार गर्दै गुल्मीलाई पर्यटकीय गन्तव्य क्षेत्रका रूपमा विकास गरी जिल्लाको समग्र आर्थिक–सामाजिक विकासमा टेवा पु¥याउने विविध उद्देश्यका साथ महोत्सव गरिएको उनले बताए ।
जिल्लाको सदरमुकाम तम्घासमा चलेको महोत्सवबाट जिल्लाको कृषि, घरेलु, औद्योगिक, प्रर्वद्धनसँगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे तालसहितका पर्यटकीय क्षेत्रहरूको प्रवद्र्धन तथा प्रचार–प्रसार गर्ने पनि महोत्सवको महŒवपूर्ण भूमिका रहेको महासचिव भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्