एसियन कम्पनीले टर्बाइन फिर्ता लाने «

एसियन कम्पनीले टर्बाइन फिर्ता लाने

नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय कालिकोटले २०७० चैतमा किनेको शान्तिघाट जलविद्युत् आयोजनाको टर्बाइन एसियन पावर कम्पनी प्रालि बुटवलले फिर्ता लैजाने जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले १ करोड १ लाख ५० हजार ५० रुपैयाँमा किनेको टर्बाइन मेसिनको अन्य रुपैयाँ दिएर ९२ लाख रुपैयाँ नदिएका कारण कम्पनीले आइतबार टर्बाइन उठाउने भएको हो ।
नेपाल विद्युत् प्राधिकरण नेपालगन्जले ठेक्का आह्वान गरेर शान्तिघाट जलविद्युत् आयोजनाको टर्बाइन जडान गरेको ५ वर्षसम्म रकम भुक्तानी नगरेका कारण आफूहरूले टर्बाइन मेसिन उठाउन लागेको एसियन पावर कम्पनी बुटवलका प्रोजेक्ट म्यानेजर रामप्रसाद पाण्डेले बताए । “हामीले टर्बाइन मेसिन जडान गरेको ५ वर्षसम्म पनि पैसा भुक्तानी भएन,” उनले भने, “आइतबार नै मेसिन उठाउने तयारी भएको छ ।”
आयोजनामा प्रयोग भएको टर्बाइनको पैसा नदिएको विषयमा आफू जानकार नभएको नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण शाखाका प्रमुख शम्भुप्रसाद मण्डलले बताए । “पहिला के भएको हो मलाई थाहा भएन,” उनले भने, “यस विषयमा बुझेर कम्पनीसँग छलफल गर्छु ।”
लामो समयदेखि अवरुद्ध रहेको कालिकोट विद्युत् सेवा टर्बाइन आएपछि २०७३ सालदेखि सञ्चालनमा आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्