सार्वजनिक खरिद ऐनको धज्जी उडाउँदै लम्कीचुहा नगरपालिका «

सार्वजनिक खरिद ऐनको धज्जी उडाउँदै लम्कीचुहा नगरपालिका

निर्वाचनका बेला आफूलाई निर्वाचित गराए सरकारबाट पाउने सेवा सुविधासमेत जनताको विकासमा लगाउने प्रतिबद्धता जनाएका कैलाली लम्कीचुहा नगरपालिकाका जनप्रतिनिधिहरू अहिले विलासिताको जीवनमा व्यस्त भएका छन् । जनताको जनजीविकाका कुरालाई लत्याउँदै जनताबाट अनुमोदित जनप्रतिनिधि जनताको विकासभन्दा पनि कसरी आफूले सरकारी रकम र सेवा सुविधा लत्याउने भन्ने कसरतमा लागेका छन् ।
प्रदेश नम्बर ७ को संसदले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफाबार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा पठाएको छ । तर यता लम्कीचुहा नगरपालिकाले शुक्रबार वडाध्यक्षलाई पल्सर मोटरसाइकल बाँडेको छ । बजाज कम्पनीको १५५ सीसीका १४ वटा मोटरसाइकल १ देखि १० सम्मका १० जना वडाध्यक्ष र ४ वटा मोटरसाइकल विभागीय प्रमुखलाई हस्तान्तरण गरेको हो । २ लाख ३७ हजार २५० रुपैयाँ प्रतिमोटरसाइकलका दरले खरिद गरिएका १४ मोटरसाइकलको ३३ लाख २१ हजार ५ सय रुपैयाँका
मोटरसाइकल नगरपालिकाले जनप्रतिनिधिलाई बाँडेको हो ।
जनताको कामलाई छिटो छरितो रुपमा सम्पन्न गर्नका लागि मोटरसाइकल खरिद गरी नगरपालिकाले वडाध्यक्षलाई बाँडेको बताइरहँदा स्थानीय भने आक्रोसित भएका छन् । जनताको विकासमा लाग्नु पर्ने समयमा जनप्रतिनिधि आफ्नै पेट भर्न लागेपछि नागरिक आक्रोषित भएको स्थानीय धर्मराज न्यौपानेले गुनासो गरे ।
जनताको सेवा गर्छु, भनी सपथ लिएका जनप्रतिनिधिले जनताका विकासलाई थाति राखी विलासिताको जीवन बिताउने कामप्रति जनप्रतिनिधि माथिको भरोसा टुटेको स्थानीयको गुनासो छ ।
चुनावका बेला सरकारबाट पाउने सेवा सुविधासमेत उपभोग नगरी जनताको विकासमा लगाउने प्रतिबद्धता समेत नेताले गरेका थिए । तर अहिले स्थानीय सरकार आइसकेपछि यस अघिका वर्षमा सरकारबाट पाउँदै आएका सेवा सुविधासमेत नगरपालिकाले कटौती गरेको स्थानीयको आरोप छ ।
पूर्व–पश्चिम राजमार्गको २५ मिटरभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी घर निर्माण गरेका नगरप्रमुख बजगाईंले चर्चामा आउन आफ्नो घर आफंैले भत्काएर विकासको काम सुरु गरेको समाचारसमेत सामाजिक सञ्जालमा भाइरल बनेको थियो । तर कर्मचारी नियुक्ति, विकास निमार्णका काममा कार्यपालिकामा समेत छलफल नगरी नगरप्रमुख बजगाईंले एकलौटी निरंकुश शैलीमा काम गर्दै आएको समेत स्रोतको दाबी छ । वडाध्यक्षलाई वितरणका लागि खरिद् गरिएका मोटरसाइकलको टेन्डरमा समेत घोटाला भएको हुन सक्ने स्थानीयको आशंका छ ।
लम्कीचुहा नगरपालिकाका उपप्रमुख टीका थापाले आफू पनि नगरप्रमुखसँगै वडाध्यक्षलाई दिएका मोटरसाइकल वितरण कार्यक्रममा सहभागी भए पनि खरिद प्रक्रियादेखि अन्य कुरामा अनविज्ञ रहेको गुनासो गरेका छन् । अन्य विकास निर्माणका काममा समेत कार्यपालिकाको बैठकमा नगरप्रमुख बजगाईंले छलफल एउटा विषयमा र निर्णय अर्कै लेख्ने र मोटरसाइकल खरिदमा समेत सामूहिक निर्णय नभई एकलौटी खरिद गरी वितरण गरेको उपप्रमुख थापाको आरोप छ ।
हिमेश विक

प्रतिक्रिया दिनुहोस्