सुकिलुम्बा विमानस्थल तयार; आगामी सोमबार परीक्षण उडान हुने

कहिले बिमान उड्ला भन्दै आकाशतिर नियाल्दै बसेका स्थानीयको सपना पूरा हुन लामो समय छैन । इलाममा निर्माणाधीन सुकिलुम्बा विमानस्थल अब परीक्षण उडानका लागि तयार भइसकेको छ । पटक–पटक परीक्षण उडान हुन्छ भन्ने हल्ला सुनेका स्थानीयले अब भने आकाशमा इलामबाटै उडेको प्लेन हेर्न पाउने भएका छन् ।
इलाम नगरपालिका–९ मा निर्माणाधीन सुकिलुम्बा विमानस्थल परीक्षण उडानका लागि तयार भएको छ । विमानस्थलमा कार्यरत इन्जिनियर सन्दीप मिश्रका अनुसार निर्माणाधीन विमानस्थल परीक्षण उडानका लागि तयार भएको हो ।
यसअघि हुने भनिएको विमानको उडान परीक्षण पटक–पटक प्रभावित भएको थियो । गत जेठ ३ गते नै परीक्षण उडानका लागि मैदान तयार गरिए पनि वर्षादका कारण उडान हुन सकेको थिएन । त्यस्तै जेठ १४ गते समेत त्यहाँ परीक्षण उडानका लागि मैदान तयार गरियो ।
परीक्षण उडानका लागि तयार पारिएको तारा एयरका पाइलट थाइल्यान्ड गएका कारण सो दिनसमेत उडान हुन नसकेको नागरिक उड्डयान मन्त्रालयले जानकारी दिएको छ ।
अब पनि धावनमार्ग परीक्षण उडानका लागि तयार भइसकेको इन्जिनियर मिश्रको भनाइ छ ।
नागरिक उड्डयान प्राधिकरणले आगामी सोमबारलाई विमान उडान परीक्षण गर्ने तयारी गरेको छ । पानी परेन र मौसमले साथ दिएमा आगामी सोमबार परीक्षण उडान गर्ने तयारी गरिएको नागरिक उड्डयान प्राधिकरणअन्तर्गत सुकिलुम्बा विमानस्थल आयोजना प्रमुख इन्जिनियर पुष्प न्यौपानेले जानकारी दिए ।
विमानस्थलमा जहाज उडान परीक्षणका लागि प्राधिकरणले तारा एयरसँग सम्झौता गरेको छ । उडान परीक्षणका लागि तारा एयरका पाइलटले विमानस्थलको अवस्था जाँच गरी फर्केका छन् ।
प्राधिकरणले गत साल वैशाखमा नै उडान परीक्षाण गर्ने बताए पनि मिति भने सारिरहेको छ । गत चैतसम्म परीक्षण उडानको तयारी गर्ने भए पनि निर्माण नसकिएकाले पछाडि सरेको बताइएको छ ।
निर्माण व्यवसायि मोहन गुरुङले पटक पटक विमानस्थलमा तयारी गरे पनि लोडर लगाएको ठाउँ पानी परेर खोलिएको गुनासो गरे । उनले विमानस्थल भिरालो र माटो मात्र भएकाले पानीले निर्माण प्रभावित पारेको बताए ।
रनवेका लागि करिब एक करोडमा ठेक्का लागेको वताइएको छ । सो कार्यका लागि काष्ठमाण्डप निर्माण सेवा प्रालीले सम्झौता गरेको थियो ।
मौसमले साथ दिएमा उढान सफल हुने वताइएको छ । परीक्षण उडानपछि मात्र विमानस्थलमा बजेट थप हुने साथै यसको काम अघि बढ्ने भएपछि चाँडो परीक्षण उडान हुनुपर्ने स्थानीयको माग छ ।
स्थानीय दिनेश खड्काले चाँडो काम अगाडि बढाउनु पर्ने बताए । उनले लामो समय अघिदेखिको स्थानीयले प्रतिक्षा गरेकाले पनि प्रतिक्षाको घडी नलम्याउन आग्रह गरे ।
विमानस्थलको सात सय मिटर लम्बाइ र अधिकतम ६० मिटर चौडाइ छ । यसका साथै विमानस्थलबाट भल पहिरो गएको र ढल व्यवस्थापनका लागि माइखोलासम्म नै ढल व्यवस्थापन कार्य ९ करोडमा काम भइरहेको छ । माइखोलादेखि पहिरोको जोखिम कम गर्नका लागि आठवटा क्यास्केट र व्यवस्थित नाली निर्माण भइरहेको छ ।
यो बिमानस्थल निर्माण सम्पन्न भएपछि पाँचथर, इलामसहित भारतको, दार्जिलिङ, सिक्कमलगायतका स्थानीयलाई समेत सहज हुनेछ ।
हालसम्ममा रनवमा सुरुदेखि खार्न र यहाँसम्म ल्याउनका लागि ८ करोड र ढल निकासका लागि ९ करोड खर्च भइसकेको प्रमुख इन्जिनियर न्यौपानेले बताए । अब निर्माण पूरा गर्न करिब ३५ करोड आवश्यक रहेको बताइएको छ ।
–टीका खतिवडा