Logo

बजेटप्रति प्रदेश सरकारका मन्त्री नै असन्तुष्ट

विराटनगर-संघीय सरकारले आर्थिक वर्ष २०७५-७६ का लागि ल्याएको बजेटप्रति प्रदेश सरकारका मन्त्रीले असन्तुष्टि जनाएका छन् ।
प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले संसद्मा संघीय सरकारले प्रस्तुत गरेको बजेट संघीयताको मर्मविपरीत भएको बताएका छन् । “यो बजेट संघीयताको भावना र मर्मविपरीत आएको छ,” आङ्बोले भने, “यस्तो बजेट आउँछ भन्ने हामीले कल्पना पनि गरेका थिएनौं ।”
बजेटबारे प्रतिक्रिया दिँदै मन्त्री आङ्बोले बजेटले सकारात्मक गति पक्रिन खोजेको भए पनि सिंहदरबारको अधिकार बालुवाटारमा मात्रै सार्न खोजिएको उल्लेख गरे । बजेटका केही कमजोरी र सीमा रहेको भन्दै उनले भने, “बजेट परम्परागत ढंगले आएको छ ।” समृद्धिको सपनालाई पूरा गर्ने खालको नदेखिएको उनको भनाइ थियो । निजी क्षेत्र र सार्वजनिक–निजी साझेदारी क्षेत्रलाई समेट्न नसकेको र प्रदेश र स्थानीय तहलाई उपेक्षा गरिएको आङ्बोले बताए । “बजेट जनमुखीभन्दा पनि राजस्वमुखीजस्तो देखियो,” उनले थपे, “यो बजेट परम्परावादी सोचभन्दा माथि उठ्न सकेको छैन ।”
प्रदेशलाई ठूला आयोजना दिनेभन्दा पनि सानातिना आयोजना दिने र बजेट छर्ने गरी आएको बताउँदै मन्त्री आङ्बोले बजेट परिणाममुखीभन्दा वितरणमुखी भएको टिप्पणी गरे । आङ्बोले जनताले अपेक्षा गरेअनुसार बजेट नआएको बताए । यही बजेटलाई टेकेर मुलुकको आर्थिक क्रान्ति गर्न नसकिने उनको विचार थियो । जलस्रोत र पूर्वाधार विकास, राजस्व चुहावट नियन्त्रण, ठूला आयोजनालाई मनग्य बजेट दिइनु सकारात्मक भएको उनको भनाइ थियो । “बजेट अन्य पक्ष सुन्दर हुँदाहुँदै पनि संघीयमैत्री नहुँदा अपुरो जस्तो देखिएको छ” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्