वीरगन्जका विवरण अब गुगल म्यापमा «

वीरगन्जका विवरण अब गुगल म्यापमा

नेपालमा प्रमुख व्यापारिक नगर वीरगन्जका सवै विवरण गुगल म्यापमा समेटिने भएको छ । स्मार्ट सिटीको अवधारणासँगै अगाडि बढेको वीरगन्ज महानगरपालिका भित्रका अव सार्वजनिक स्थल, अस्पताल, सडक, बसपार्क, स्कुल कलेजदेखि महत्वपूर्ण स्थललाई पहिलोपटक गुगल म्यापिङमा राखिँदै छ । आइतबारदेखि वीरगन्जलाई गुगल म्यापिङका साथै अनलाइन पेमेन्टको प्रक्रिया अगाडि बढाउने तयारी भएको छ । यससँगै ‘गेट वे अफ नेपाल’ भनिने वीरगन्ज डिजिटल कारोबारमा पनि अगाडि बढेको छ ।
सरकारले पछिल्लो पटक वीरगन्जलाई महानगरपालिका घोषणा गरेको थियो । पछिल्लो महानगर भए पनि वीरगन्जवासीले अरु महानगरवासीका तुलनामा छिटो डिजिटल महानगरका सुविधा पाउने छन् । वीरगन्जका मेयर विजय सरावगीको चुनावी एजन्डा पनि स्मार्ट वीरगन्ज नै थियो । मेयर सरावगीको मात्रै नभएर स्मार्ट सिटी सबै राजनीतिक दलको एजेन्डा स्थानीय तहको निर्वाचनमा एजेन्डा थिए तर त्यसका लागि चाहिने पूर्वाधार, मापदण्ड, अन्तर्राष्टिय अभ्यास तथा लागतका विषयमा भने अध्ययन हुन सकेको छैन । वास्तविक स्मार्ट सहर कस्तो हुन्छ भन्ने अध्ययन प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनसम्म आउँदा पनि हुन सकेको छैन । मेयर सरावगीले अन्तर्राष्ट्रिय मान्यताहरूलाई कायम राख्नेगरी वीरगन्जलाई डिजिटल बनाइने बताएका छन् ।
अब वीरगन्जमा पहिलोपटक गुगलम्यापिङ, बिजुलीको बिल र अनलाइन किनमेल हुँदै शिक्षा, स्वास्थ्य, जन्मदर्तादेखि मृत्युदर्तासम्मका विवरणहरू डिजिटल प्रविधिमा रूपान्तरण हुनेछन् । अनलाइन पेमेन्ट, गुगलमा नक्साको जानकारी र बिल भुक्तानी सम्बन्धमा जानकारी गराउने उद्देश्यले दुई सयभन्दा धेरै गृहिणीहरूलाई तालिम समेत दिइएको छ । तालिमका लागि राजधानीबाट सम्बन्धित विषयमा दक्ष युवाहरू एक सातादेखि वीरगन्जमै छन् । सवै वडा कार्यलयहरूलाई अनलाइनमा जोड्ने, महानगरबाट हुने कामहरू अनलाइनमार्फत गर्ने र सरकारले स्थानीय तहलाई उपलब्ध गराएको सफ्टवेयर पनि प्रयोग गरिने बताएका छन् । केही समयपछि ‘नो योर वीरगन्ज’का कार्यक्रम पनि सार्वजनिक गरिने उनले बताएका छन् ।
अनलाइन पेमेन्टका लागि खल्तीडटकमसँग सहकार्य गरिएको छ । खल्तीबाट बिजुलीको बिल भुक्तानीदेखि सवैखाले अनलाइन कारोबार गर्न सकिन्छ । कारोबारलाई नगदरहित र पारदर्शी बनाउने उद्देश्यले जानकी टेक्नोलोजीले खल्ती सुरु गरेको छ । मोबाइल नम्बरका आधारमा दर्ता गरी यसको सदस्य बन्न सकिने र ई–बैकिङ सेवा लिएका र नलिएकाले पनि खल्ती कारोबार गर्नसक्ने कम्पनीका सञ्चालक अमित अग्रवाल बताउँछन् । महानगरलाई डिजिटल बनाउन अग्रवालसहित उनको टीम पनि अहिले वीरगन्जमै छ ।
डिजिटल फाइनान्सिङ, निशुल्क विकिपिडियाको प्रयोग, घरमै बसेर बिजुलीदेखि इन्टरनेटको बिल, अनलाइनका कोर्सहरू पढ्न पनि सिकाएको उनले जानकारी दिए । “वीरगन्ज आफैमा ठूलो ठाउँ भएकोले हाम्रो मात्रै पहलले सम्भव छैन, हामीेले प्रहरी, नागरिक समाज, स्थानीय क्लब, रोट्र्याक, महिला समिति, वीरगन्ज उद्योग वाणिज्य संघलगायत निजामति तथा बैंकहरूलाई पनि सहभागी गराएका छौं,” अग्रवाल भन्छन्, “अबको एक साताभित्र ३६० डिग्रीको भ्यू हेर्न सकिनेछ भने महत्वपूर्ण ठाउँहरू गुगलमा भेटिनेछन् ।” वीरगन्जलाई डिजिटलमा लैजाने अवधारणामा सवै स्थानीयको चासो र सहयोग भएकोेले काम सम्पन्न गर्न सहज भएको सरोकारवालाहरूले बताएका छन् ।
ग्रीन सिटी सामुदायिक प्रहरी केन्द्र, वुमन क्रियसन, लायन्स क्लब, रोटरी तथा रोट्र्याक, नेसनल इन्फोटेक कलेज, विकिपिडिया कम्युनिटी, वीरगन्ज उद्योग वाणिज्य संघ, तथा स्थानीयहरू डिजिटल वीरगन्ज बनाउन लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्