बजेटले उत्साह थपेन «

बजेटले उत्साह थपेन

विभिन्न राजनीतिक दलका नेता तथा आर्थिक मामिलाका जानकारहरूले बजेटले उत्साह थप्न नसकेको बताएका छन् । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले आगामी आर्थिक वर्षको बजेटले कुनै उत्साह थप्न नसकेको बताएका छन् । केपी ओली नेतृत्वको सरकारले गफ र सपना धेरै बाँडेकाले बजेट पनि सोहीअनुसारको हुन्छ भन्ने अपेक्षा गरिए पनि जनताको मन जित्न नसकेको यादवले आरोप लगाए । “अब त केही हुन्छ कि भन्ने आशा थियो । तर हात्ती आयो हात्ती आयो फुस्सा । यो बजेट कर्मकाण्डी मात्रै हो,” यादवले भने ।
बहुमतसहितको स्थिर सरकारले ल्याएको बजेट विगतकै सरकारले ल्याएजस्तो भएको उनको जिकिर छ । यादवले भने, “यो सरकार गफै दिएर खाने रैछ भन्ने प्रमाणित भयो ।” प्रधानमन्त्री ओली र अर्थमन्त्री युवराज खतिवडाबीच नै तालमेल नमिलेका कारण बजेट पनि स्तरीय बन्न नसकेको आशंका यादवले व्यक्त गरे ।
“आक्रामक र आयतन बढ्नुपथ्र्यो, प्राथमिकता किटान गर्नुपथ्र्यो । उत्पादन ताकेर वृद्धिदरको लक्ष्य राख्नुपर्छ । तर कुनै पनि योजनाको आधार नै छैन,” यादवले भने । प्रदेश र स्थानीय सरकारलाई बजेटले प्राथमिकता दिन नसकेको भन्दै उनले आपत्ति जनाएका छन् ।
यस्तै, पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आर्थिक वर्ष २०७५-७६ को बजेट यथार्थपरक भएको बताएका छन् । उनले स्थिर सरकारले ल्याएको बजेट कार्यान्वयन हुने सम्भावना रहेको बताए । बजेटको आकार उचित भएको भन्दै उनले ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हासिल हुने जिकिर गरे । कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार क्षेत्रलाई बजेटमा प्राथमिकता दिइएकाले आर्थिक वृद्धिदरको लक्ष्य हासिल हुनसक्ने उनको भनाइ थियो ।
५ लाख रोजगारी सिजना गर्ने लक्ष्य सकारात्मक भएको भन्दै कोइरालाले अहिले नै बजेटबारे नकारात्मक टिप्पणी गर्न नहुने जिकिर गरे । विगतका सरकारले ल्याएका कार्यक्रमलाई निरन्तरता दिनु सकारात्मक पक्ष भएको भन्दै उनले नयाँ कार्यक्रम ल्याउनुअघि पहिलाको योजना सफल बनाउने नीति उचित भएको दाबी गरे ।
बजेटमा प्रदेश र स्थानीय तहलाई भने पर्याप्त रकम नदिइएको कोइरालाको गुनासो छ । संघीयता कार्यान्वयन भएपछिको पहिलो वर्षमा नै प्रदेश र स्थानीय सरकारलाई थोरै बजेट दिनु गलत भएको उनको ठहर छ ।
संघीय समाजवादी फोरम नेपालका नेता हरिनारायण रौनियारले सरकारले सार्वजनिक गरेको बजेटले सकारात्मक सन्देश दिएको तर महत्वाकांक्षी भएको टिप्पणी गरेका छन् । अर्थमन्त्री युवराज खतिवडाले भनेजस्तै बजेट देशको माटो सुहाउँदो भए पनि कार्यान्वयनको पाटो भने जटिल भएको रौनियारले बताए । तर प्रदेश र स्थानीय सरकारलाई करको अधिकार दिनुपर्नेमा त्यसो नगरिएको भन्दै उनले असन्तुष्टि जनाए । उनले थपे, “संघीयताअनुसारको बजेट भएन । प्रदेश र स्थानीय सरकारलाई कर उठाउने अधिकारबारे प्रष्ट पार्नुपथ्र्यो ।” प्रदेश नम्बर दुईलाई पर्याप्त बजेट विजियोजन नगरिएको उनको गुनासो छ ।
नेता रौनियारले सांसदलाई ४ करोड रुपैयाँ दिने प्रक्रिया गलत भएको भन्दै झन्झटिलो प्रक्रिया प्रभावकारी नहुने दाबी गरे । गैरराजनीतिक व्यक्तिले बजेट ल्याएकाले केही समस्या भए पनि भोलिका दिनमा सुधार गर्दै जानुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्