राजपा पर्ख र हेरको स्थितिमा «

राजपा पर्ख र हेरको स्थितिमा

संघीय समाजवादी फोरमले चालेका राजनीतिक कदमको थप प्रष्टीकरणका लागि राष्ट्रिय जनता पार्टीले पर्ख र हेरको नीति अपनाएको छ । संघीय समाजवादी फोरम र सत्तारूढ नेकपाबीच भएको सम्झौताले प्रदेश नम्बर २ को गठबन्धन सरकार परिवर्तन हुने राजनीतिक आशंकालाई फोरमका नेताहरूले हटाउन खोजे पनि राजपाका नेताहरू विश्वस्त हुन सकिरहेका छैनन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रदेश नम्बर २ मा सरकार परिवर्तन नहुने बताइरहेको भए पनि राजपाका नेताहरूले त्यसलाई व्यवहारमा पुष्टि भएको हेर्न चाहेका छन् ।
फोरमले संघीय सरकारमा जाने गरी सत्तारूढ नेकपासँग गरेको सम्झौताबाट उत्पन्न राजनीतक परिस्थितिका बारेमा अध्यक्ष मण्डलको बैठकमा पनि गम्भीर छलफल हुन सकेको छैन । राष्ट्रिय जनता पार्टीका नेताहरूले नेकपा र फोरमबीचको सम्झौता फोरमले एकल निर्णयबाट गरेको र यसबाट प्रदेश सरकारको समीकरणमा फरक पर्न नहुने बताइरहेका बेला अध्यक्ष यादवको भनाइप्रति समर्थन जनाउँदै फोरमका महासचिवले रामसहाय यादवले पनि प्रदेश नम्बर २ को सत्ता गठबन्धनमा कुनै परिवर्तन नहुने बताए ।
बाराबाट प्रत्यक्ष चुनावबाट सांसद बनेका महासचिव यादवले यो सम्झौताले गठबन्धन सरकारका लागि कुनै फरक नपर्ने दाबी गरे । उनले भने, “राजपा फोरमको सरकारमा कुनै परिवर्तन हुँदैन ।”
फोरम र राजपाका नेताहरूबीच ठाउँ–ठाउँमा देखिएको विवाद र नेकपासँग गरिएको सम्झौताले गठबन्धन सरकारको स्वरूपमा परिवर्तन त हुँदैन भनी सोधिएको प्रश्नमा महासचिव यादवले भने, “संघीय सरकारको राजनीति फरक कुरो हो । प्रदेशको राजनीति फरक कुरो हो ।”
राजपाका उपाध्यक्ष सत्यनारायण मण्डलले फोरमका नेताहरूले प्रदेश सरकाको गबन्धन नभाँड्ने गरी दिएको अभिव्यक्ति स्वागतयोग्य रहेको बताए । उनले भने, “फोरम–नेकपा सम्झौताले निम्त्याएको राजनीतिको समीक्षा हुन बाँकी छ । अध्यक्ष मण्डलका सदस्यहरू बाहिर भएकाले यसबारे शीर्ष नेताहरूबीच पनि गम्भीर छलफल भएको छैन ।”
राजनीतिक दिशा समात्नका लागि राजपाले जेठ २५ गते पार्टीको राजनीतिक समितिको बैठक बोलाएको छ । त्यो बैठकमा नयाँ दिशाको खोजी गरिने उपाध्यक्ष मण्डलले बताए ।
तर, राजपाका नेताहरूले फोरमको नेताहरूको राजनीतिक बोली र व्यवहारमा अलि फरक संकेत पाइरहेको बताए । “हामीले आन्दोलन सँगै गर्यौं, चुनाव सँगै लड्यौं । सरकार सँगै बनायौं । तर संघीय सरकारमा जाने निर्णय फोरमले एकल निर्णय ग¥यो । यो अलि नमिलेको जस्तो देखियो,” राजपा उपाध्यक्ष वृषेशचन्द्र लालले बताए । उनले भने, “सम्झौता भए पनि हामी फोरमसँगको सरकार चलिरहोस् भन्ने चाहेका छौं ।”

प्रतिक्रिया दिनुहोस्