Logo

यार्सा यात्रा

रुकुम-साढे दुई महिनाको रमझमपूर्ण र अभूतपूर्व यार्सा कारोबारको लागि करिब करिब ४५०० मिटर उचाइमा लगभग ६०० जना स्थानीय र केही सरकारी सुरक्षाकर्मीहरूको बलियो घेरामा घेरिएको छ यार्सा क्षेत्र पुपाल । दैनिकजसो पर्ने हिमपातले यार्सा सुरक्षाकर्मीलाई थप सघाइरहेको छ भने सँगै सास्ती पनि दिइरहेको छ ।
०५० को दशकदेखि कारोबारले औपचारिकता पाएको रुकुम पूर्वको मैकोटको पाटन क्षेत्रमा पाइने यार्सागुन्बु नेपालको उत्कृष्ट यार्सामध्येमा गनिन्छ । द्वन्द्वकालमा राज्यबाट चालिएको नरसंहारपूर्ण (किलोसेरा टु) नामक अप्रेशनताका यसै क्षेत्र पुपालमा ५ जना यार्सा संकलकलाई माओवादीको नाममा गोली हानी हत्या गरिएको थियो ।
बढी उचाइ भएका कारण यार्सा संकलनकै क्रममा ज्यान गुमाउने यार्सा संकलकको संख्या आधा दर्जन पुगिसकेको छ । जसमा दूधे बालकदेखि वयोवृद्ध समेत छन् । मोफसल र राष्ट्रिय मिडियामा पहुँच भएका पत्रकारले यसै सिजनमा लिएका फोटोले राष्ट्रिय तथा क्षेत्रीयमा राम्रो स्थान चुमिरहेका छन् । अझ दिपेन्द्र भण्डारी निर्देशित यार्सा जनजीवनमा आधारित (जर्नी टु यार्सा) नामक वृत्तचित्रले त राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा तहल्कै मच्चाएको थियो । जुन दक्षिण एसियाली वृत्तचित्र स्पर्धामा तेस्रो स्थान ओगट्न सफल रह्यो ।
अनगिन्ति हिमताल, हिमाली जीवजन्तुको आँखै अगाडि दर्शन गर्न पाउनु यार्सा सिजनको अर्को विशेषता हो भने राज्यबाट सधै ओझेलमा पारिएको पुथा हिमाललाई सम्मुखबाट दृष्यावलोकन गर्न पाउनुको आनन्द बताइनसक्नु छ । यार्सा ट्रेलमार्फत् बर्सेनि यो सिजनलाई प्याकेजमै उपयोग गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने प्रवल सम्भावना रहेको छ । यो सिजन यार्सा कारोबारको अलावा युवायुवतीका लागि ‘लभ्ली मन्थ’ पनि हो । रंगीचंगी बुकी फूलको बारीमा यार्सा टिप्दै लाएका मायाले सार्थक रुप लिँदा आजसम्म सयौं जोडीले घरबार जोडिसकेका छन् । हरेक वर्ष झन्डै दर्जन जोडीले आफ्नो सुनौलो जीवन यही सिजनको माध्यमबाट स्थापित गरिरहेका छन् । भावानात्मक साइनो क्रमशः नातागत साइनोमा बदलिने क्रम बढ्दो छ ।
त्यसैले यतिबेला त्यस आसपासका यार्सा संकलक अनि व्यापारीका लागि बढी चासो र चलखेल हुनु स्वभाविक विषय हो । यसै सिजनले नै त्यहाँका बासिन्दाले वर्षभरि लाउन र खाने व्यवस्थाको जोहो गर्छन् ।
यार्सा सिजन करिब दुई महिनादेखि साढे दुई महिनासम्म चालू रहन्छ । यो अवधिलाई चुस्त दुरुस्त व्यवस्थापन गर्नका लागि स्थानीय भेलामार्फत बर्सेनी (०६४ सालदेखि) १३ देखि २५ जनासम्म सदस्य रहने गरी यार्सा सिजन व्यवस्थापन समिति गठन गरिन्छ । समितिले सिजनभरिको सुरक्षादेखि आर्थिक कारोबारको सबै जिम्मा लिने गर्दछ । यार्सा संकलक, व्यापारी, होटल व्यवसायी अनि यार्सासम्बन्धी खोज अनुसन्धान गर्ने विज्ञ र पत्रकारहरू वा अन्य कुनैलाई आवश्यक सहयोग तथा सेवा दिनु समितिको मुल कर्तव्य हो । यार्सा सिजनभरि कहिँ कतैबाट कुनै पनि व्यक्तिलाई अवरोध र समस्या भएमा समिति कहाँ आफ्नो समस्या राखेर समाधान गर्नुपर्छ ।
यी कुरामा ध्यान दिनुस्

  • न्यानो कपडा अनिवार्य व्यवस्था गर्नुस् । जस्तो– न्यानो जाकेट, पाइन्ट, ट्राउजर, उनी टोपी, पन्जा, टेन्ट पाल, राम्रो खाले स्लीपिङ्ग ब्याग, राम्रै खाले जुत्ता, म्याट्रेस, मास्क, हाइनेक र सुईटर, रेन कोट, छाता आदि ।
  • चिसो र बढी उचाइमा अक्सिजनको कमीका कारण लेक लाग्ने (हाई अल्टीच्युड), ज्वरो आउने, वान्ता हुने हुँदा आवश्यक औषधी बोक्नु आवश्यक हुन्छ ।
  • यार्सा फुकुवा हुनु केही दिनअगावै यार्सा बेसक्याम्प वरपर जानु उचित हुन्छ । जसले हाई अल्टीच्युडका कारण बिरामी हुने समस्या धेरै हदसम्म कम हुन्छ ।
  • पेय पदार्थ बगे्रल्ती पाइने भए पनि सकेसम्म चिसोमा नलिएकै राम्रो । यदि लिनैपरेमा लोकल अन्नको लिँदा उचित हुन्छ, त्यो पनि थोरै ।
  • भरपर्दा साथी र आफन्तसँगमात्र साथ रहनु उचित हुन्छ ।
  • वनमा यार्सा टिप्न जाँदा जथाभावी आफूखुशी नगई सबैभन्दा बढी यार्सा पाउने र यार्सा पाईने ठाउँको भेउ पाएका व्यक्तिसँग संगत गर्नु राम्रो हुन्छ ।
  • सिजनभरि मनोरञ्जनका माध्यमहरू थुप्रै हुने हुँदा त्यतापट्टि नभुली आफ्नो लक्ष्यतिर मात्र केन्द्रित हुन आवश्यक देखिन्छ ।
  • होटलमा नास्ता गर्दा मूल्य बुझेर मात्र लिनुपर्छ । नत्र एकको दुई तिर्ने स्थिति नआउला भन्न सकिन्न ।
  • कसैको अवास्तविक र हल्लैहल्लाको गफमा फस्नु हँदैन ।
    मान्छे चिनेर मात्र कारोबार गर्नुपर्छ ।
  • आफ्नो लगानी र सामानको उचित सुरक्षाको व्यवस्था गर्नुपर्छ ।
  • सुरक्षा निकाय र समितिसँग नियमित सम्पर्कमा रहनुपर्छ ।
  • पर्यावरण सन्तुलनलाई ख्याल राख्न यसो गरौ

कसरी पुगिन्छ यार्सा क्षेत्र ?
काठमाडौ खलंगा पश्चिम रुकुम वा रुकुमकोट पूर्व रुकुमसम्म सिधा ठूलो गाडी पिपलटुङ्ग (ओखमा) त्यहाँबाट मैकोट हुँदै मैकोट, दुले, पुपाल गरी जम्मा ५ दिनको यात्रा ।
काठमाडौ, बाग्लुङ्ग बुर्तिबाङ्ग (ठूलो गाडी) ढोरपाटन (जीप) बुजिख (पैदल शुरु), थाँकुर, पेल्मा, दुले, पुपाल हुँदै जम्मा ६ दिनको यात्रा
पोखरा, बेनी,दर्बाङ्गसम्म ठूलो गाडी । त्यही दिन जीपबाट मुना, ढोरपाटन, थाँकुर, पेल्मा, दुल हुँदै पुपाल सहित ६ दिनको यात्रा ।

(यार्सा व्यवसायी तथा स्थानीय भरतकुमार पुनको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्