धनगढीको समृद्धिका लागि उम्मेदवारी

धनगढी उपमहानगरपालिका सुदूर पश्चिमको व्यापारिक दृष्टिकोणले निकै सबल मानिन्छ । मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हरेक राजनीतिक दलको मुख्य केन्द्र धनगढी उपमहानगरपालिका बनेको छ । आर्थिक समृद्धि र विकासका लागि आश्वासन दिँदै उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन् । धनगढी उपमहानगरपालिका पर्ने कैलाली क्षेत्र नं. ५ मा नेपाली कांग्रेसबाट प्रधानमन्त्री पत्नी आरजु राणा (देउवा) र वाम गठबन्धनका तर्फबाट एमालेका नारदमुनि राना चुनावी मैदानमा भिड्दै छन् भने संघीय समाजवादी फोरम नेपालका सुरेन्द्र यादव र विवेकशील साझा पार्टीका दिनेशराज भण्डारीसमेत चुनावी मैदानमा उत्रिएका छन् । भर्खरै सकिएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिकामा जित हासिल गरेको थियो । मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेसलाई चुनौती दिन वाम गठबन्धनलगायत अन्य दल लागेका छन् । सबै उम्मेदवार आ–आफ्ना एजेन्डा लिएर जनताको घरदैलोमा पुगिरहेका छन् । धनगढीको समृद्धि र विकासका लागि उम्मेदवारका एजेन्डा र प्रतिबद्धताका विषयमा कारोबारकर्मी हिमेश विकले गरेको कुराकानीको सार :
पूर्वाधार विकास र रोजगारी उपलब्ध
डा. आरजु राणा (देउवा)
प्रतिनिधिसभा सदस्यका उम्मेदवार, नेपाली कांग्रेस
कैलाली क्षेत्र नं. ५
नेपाली कांग्रेसले जे बोल्छ त्यो गरेर देखाएको छ । हामीले झूटा आश्वासन देखाएका छैनौं र देखाउँदैनौं पनि । नसक्ने कुरा गर्छौं भनेर हामीले मतदातासँग भोट मागेका पनि छैनौं । चुनावी अभियानका क्रममा यो क्षेत्रका मतदाताले दिगो विकास र समृद्ध पर्यटकीय क्षेत्रको पूर्वाधार विकासका निम्ति मागहरू राख्नुभएको छ । म जहाँ जन्मे–हुर्केको भए पनि मेरो घर यहीं भएकाले म आफैं पनि यो क्षेत्रको समस्याका बारेमा जानकार छु । म आफैं पनि एउटा मनोविज्ञानमा अध्ययनरत भएकाले यहाँका जनताको इच्छा–आकांक्षा के हो, म सहजै बुझ्न सक्छु ।
एउटा पक्षले पर्यटकीय उम्मेदवार र प्रधानमन्त्री शेरबहादुर देउवाले यो क्षेत्र जितेर गएपछि बीचमै छाडेर गयो भन्ने जस्ता आरोप लगाएका छन् । यो सत्य होइन, किनभने प्रधानमन्त्री शेरबहादुर देउवा सुदूर पश्चिमको मात्र नेता नभएर देशकै प्रधामन्त्री हो । उहाँ यो क्षेत्रमा नभए पनि सुदूर पश्चिम विकासका लागि छुट्टै योजना छ ।
तुलनात्मक रूपमा वर्तमान अवस्थामा विकासका धेरै काम अगाडि बढेका छन् । यसमा पनि गर्नुपर्ने काम धेरै बाँकी छन् । त्यसैका लागि म उम्मेदवार बनेको हुँ । मैले चुनाव जितेपछि विकासका अधुरा कामलाई अगाडि बढाउनेछु । धनगढी विमानस्थलको स्तरोन्नति, सेती अञ्चल अस्पतालको पूर्वाधार विकास, खुटिया सडकखण्डको स्तरोन्नति तथा कालोपत्रे गर्नेछु । नगरभित्र रहेका वडा–वडामा पक्की सडक, स्मार्ट सिटीको निर्माण, धनगढी डुबानलाई मुक्त गर्ने, विद्युत् नपुगेको ठाउँमा एक वर्षभित्रै बिजुली पु¥याउने लक्ष्य मेरो प्राथमिकतामा परेका छन् ।
देश–विदेशका संघ–संस्थाहरूसँग मेरो राम्रो सम्बन्ध भएका कारण यहाँका युवाहरूलाई रोजगारीको व्यवस्था मिलाउनेछु । कैलालीमा रहेका दक्ष युवालाई बाहिर पलायन हुनबाट रोकी यहीँ रोजगारीको व्यवस्था गर्छु । शिक्षित महिलालाई रोजगारी दिन्छु । एक घर एक रोजगारीको व्यवस्था मिलाउँछु ।
पिएचडी होल्डर भएकाले विकास कसरी गर्ने भिजन मसँग छ । म दूरदर्शी नारी पनि हुँ । मसँग सबै जाति, समुदाय मिलाएर लग्न सक्ने क्षमता छ । म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सम्पर्क गरेर काम गर्ने हैसियतको छु । म निर्वाचित भएपछि जिल्लाका मतदाताको मन दुखाउने गरी काम गर्नेछैन । घोषणापत्रमा उल्लेख्य भएका सबै विषय पूरा गर्नु मेरो कर्तव्य हो । कैलाली आर्थिक स्तरमा निकै पछाडि परेको क्षेत्र भएकाले यहाँका जनताको जीवनस्तर सुधार गर्नु मेरो दायित्व हुनेछ ।
कैलालीका जनताले आधारभूत कुरा अझै पाउन सकेका छैनन् । उनीहरूका आवाजलाई केन्द्रीय सरकारले अझै पनि सुनेको अवस्था छैन । म जनप्रतिनिधिका रूपमा निर्वाचित भएपछि यहाँका तमाम समस्या समाधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
जिल्लामा उत्पादित कृषिजन्य उत्पादनले बजार पाउन नसकेको अवस्थामा सडक सञ्जालको विस्तारलाई उच्च प्राथमिकतामा राखी सडक सञ्जाल विस्तारपछि त्यस्ता वस्तुको बिक्रीबाट राम्रो आम्दानी गर्न सक्ने व्यवस्था मिलाउँछु ।
मतदाताहरूले मलाई विश्वास गरी मत दिएर निर्वाचित गराएमा मैले गरेका सबै प्रतिबद्धता पाँच वर्षभित्र पूरा गराउने लक्ष्य लिएको छु ।
विकासका लागि मेरो उम्मेदवारी
दिनेशराज भण्डारी
प्रतिनिधिसभा सदस्यका उम्मेदवार, विवेकशील साझा पार्टी
कैलाली क्षेत्र नं. ५
कैलाली क्षेत्र नं. ५ को विकास र समृद्धिका लागि मैले उम्मेदवारी दिएको हुँ । मेरा लागि भूगोल अवसर र चुनौती दुवै हो । कैलाली जिल्लालाई समृद्ध कैलालीका रूपमा विकास गर्नु नै मेरो पहिलो एजेन्डा हो । देशमा व्यवस्था परिवर्तन भए, जनताका अवस्था परिवर्तन भएनन् । देशमा प्रजातन्त्र आएको २८ वर्ष भइसक्यो । जनताले एकपटक विश्वास गरेर संविधानसभामा पठाए, तर कसैले पनि सुदूर पश्चिम समृद्ध र विकासका लागि केही गरेनन् । तर, म यहाँ विकासका पूर्वाधार निर्माण, कृषि पर्यटन विस्तार, युवा महिलालाई रोजगारीको व्यवस्था गर्ने छु । विशेष आर्थिक क्षेत्र स्थापना, गौरीफन्टा नाका र ताक्लाकोटा नाका खोल्न पहल र सुदूर पश्चिममा न्यायोचित बजेट विनियोजित गरी सुदूर पश्चिमको समग्र विकास, जडीबुटी, पर्यटन संरक्षण, प्रवद्र्धनका लागि लाग्नेछु ।
चुनावी एजेन्डा जेसुकै भए पनि अबको आवश्यकता भनेको विकास नै हो । त्यहीअनुसार विकासलाई मुख्य एजेन्डा बनाएर अगाडि बढेको छु । सुदूर पश्चिम राज्यको दृष्टिकोणमा निकै टाढिएको छ । पूर्वमा एक जिल्लामा आउनेजति बजेट सुदूर पश्चिमका समग्र जिल्लाका लागि विनियोजन गर्ने गरिएको छ । यदि जनताले मलाई काम गर्ने अवसर दिनुभयो भने विकास–निर्माण र बजेटमा हुने विभेदका विरुद्ध आवाज उठाउनेछु ।
म यही क्षेत्रको बासिन्दा भएकाले मलाई प्रचार–प्रसारमा कठिनाइ छैन । मसँग विकास कसरी गर्ने भन्ने भिजन छ । म एक सफल व्यवसायी पनि हुँ । म आफैं सफल छु अनि आफ्नो क्षेत्रलाई पनि सफल बनाउने दृढ संकल्प बोकेर चुनावी मैदानमा उत्रेको छु । धेरै कार्यकाल एक सफल व्यापारी भएर उद्योग वाणिज्य संघमा अध्यक्ष पदजस्तो गरिमामय जिम्मेवारी सम्हालेको छु । उद्योग वाणिज्य संघमा काम गरेको मेरो कौशलता देखेर विवेकशील साझा पार्टीले मलाई उम्मेदवार बनाएको हो ।
बेलाबेलामा राष्ट्रका प्रमुखलाई बोलाएर सुदूरपश्चिम महोत्सवमा मागपत्र चढायौं, तर पनि हाम्रा सुदूर पश्चिमको माग पूरा हुन सकेन । आज मागपत्र चढाएको १२ वर्ष भइसक्यो, तर पनि माग पूरा हुन सकेको छैन । व्यापारीहरूले राजनीतिमा लाग्नु हुन्न भन्ने हाम्रो मानसिकता थियो, तर हाम्रा सुदूर पश्चिमवासीको माग पूरा नहुँदा मैले उम्मेदवारी दिएको हुँ ।
मेरो जन्मथलो, कर्मथलो, अन्तिमथलो यही भएका कारण म यहाँबाट टाढा नहुने संकल्प गर्न चाहन्छु । मैले जिते यहींको विकास गर्छु, तर बाहिरबाट आएका नेताहरूले जितेमा धनगढीको विकास असम्भव हुन सक्छ । त्यसकारण मेरो जित अपरिहार्य रहेको छ ।
यो क्षेत्रका हलिया, कमैयाँ मुक्तिका लागि २० वर्षदेखि लागिरहेको छु । यो क्षेत्रको शैक्षिक स्तर वृद्धिका लागि विभिन्न संघ–संस्थामा रहेर काम गरें । म जनतालाई ढाँट्न र चक्र्रो कुरा गर्न यो क्षेत्रमा आएको होइन । तपाईंहरूले यति त कुर्नुभो । मैले जितेमा अब पाँच वर्ष कुर्नुहोस्, सुदूर पश्चिमलाई समृद्धि र विकासतर्फ लाने मेरो पहल हुनेछ ।
धनगढीलाई समृद्ध राजधानी बनाउने लक्ष्य
सुरेन्द्र यादव
प्रतिनिधिसभा सदस्यका उम्मेदवार, संघीय समाजवादी फोरम नेपाल
कैलाली क्षेत्र नं. ५
कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका लागि संघीय समाजवादी फोरम नेपालका तर्फबाट म उम्मेदवार बनेर चुनावी मैदानमा उत्रेको छु । गेटा मेडिकल कलेज, धनगढीमा इन्जिनियरिङ क्याम्पस, धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति, ल क्याम्पस, कृषि क्याम्पस तथा प्राविधिक क्याम्पस बनाउन जोड्दार रूपले लाग्ने मेरो प्रमुख एजेन्डा रहेको छ ।
प्राथमिकतामा सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, कृषि आधुनिकीकरणमा जोड दिनेछु । धनगढीलाई समृद्ध र आर्थिक रूपले बलियो बनाउने र विकासलाई मुख्य एजेन्डा बनाएर घरदैलो अभियानमा छु । धनगढीवासीले लामो समयदेखि भोगिरहेका समस्या समाधानका लागि मैले उम्मेदवारी दिएको हुँ ।
विभिन्न आयोजना केन्द्रबाट जिल्ला तहमा लैजान पहल गर्नेछु । कृषिमा आधुनिकीकरण, रोजगारी, सडक सञ्जाललगायतका पूर्वाधारहरूलाई दिगो बनाउने प्रतिबद्धता गरेको छु ।
जिल्लामा रोजगारीका अवसरहरू कम भएकाले धेरै युवा बिदेसिन बाध्य भएका छन् । त्यसैले जिल्लामा रोजगारीका धेरै अवसर सिर्जना गरेर युवालाई जिल्लामै रोजगारीको व्यवस्था मिलाउनेछु । जिल्लामा औद्योगिक क्षेत्र निर्माण गर्नेसमेत लक्ष्य लिएको छु । आफूले जितेपछि जनताका समस्या समाधान गर्न पूर्ण रूपमा तत्पर भएर लाग्ने लक्ष्य छ । सबै जातजातिमा समानता र सहअस्तित्वको भावना विकास गरी संघीय व्यवस्थासहितको समाजवादमा अग्रसर रहने विश्वास दिलाएको छु ।
यस क्षेत्रका खस आर्य, दलित (सिपी), महिला, मधेसी, जनजाति, थारू, मुस्लिमलगायतका जाति–समुदायको हित उत्थानका लागि अग्रसर रहने प्रतिबद्धता गरेको छु ।
म आगामी दिनमा पनि मतदाताको मन जित्ने गरी काम गर्ने प्रतिबद्धतासहित उम्मेदवार बनेको छु । मलाई विश्वास छ, यहाँका मतदाताको घरदैलोमा गएर मतदाताहरूको पीरमर्का बुझेको छु । उनीहरूका समस्या समाधानका लागि सदैव तत्पर रहने विश्वास दिलाउन चाहन्छु ।
विकासको बाटोतिर लैजाने प्रतिबद्धता
नारदमुनि राना
प्रतिनिधिसभा सदस्यका उम्मेदवार, नेकपा एमाले (वाम गठबन्धन)
कैलाली क्षेत्र नं. ५
नेकपा एमाले जे बोल्छ, त्यो गर्न प्रतिबद्ध छ । हामी झूटो बोल्दैनौं । नसक्ने कुरा गर्छौं भनेर नारा लगाउँदै हिडेँका पनि छैनौं र काजगमै सहमति भएका बुँदा राखेका पनि छैनौं । कार्यान्वयनमै ल्याएका छौं, व्यवहारमा उतारेका पनि छौं ।
मैले उपमेयर, सभासद भएर यहाँका जनतालाई विकासको बाटो देखाएर विश्वास जितेको छु । क्षेत्र नं. ५ सुन्दर क्षेत्र हो । यहाँ विभिन्न समुदाय, जातजाति भाइचाराको सद्भाव बाँडेर बसका छन् । यो क्षेत्रको उम्मेदवार बन्न पाउँदा म एकदमै हर्षित भएको छु । मेरो मुख्य जित्ने आधार भनेकै क्षेत्रगत हिसाबले हो ।
पार्टीले जारी गरेको घोषणापत्रमा धेरै मुद्दा उल्लेख गरिएको छ । सिंगो मुलुकलाई आर्थिक समृद्धितिर लैजाने ठोस मुद्दाहरू छन् । यो मुलुकलाई समृद्ध बनाउने, विकास– निर्माणतर्फ लैजाने, आर्थिक समृद्धितिर लैजाने चार–पाँचवटा प्रमुख आधारहरू रहेका छन् । मैले जितेमा कैलालीमा कृषिक्षेत्रलाई आधुनिकीकरण तथा जलस्रोतको निकासलाई प्राथमितामा राखेर ऊर्जा उत्पादन गर्नतर्फ प्रतिबद्ध रहेको छु ।
मेरो उम्मेदवारीको प्रमुख अधार भनेको पर्यटन हो । यहाँ जातजातिको भेषभूषा, रहनसहन, वन–जंगल, हिमाल, पहाड, नदी–नालालाई व्यवस्थित गरी आर्थिक उपार्जन गर्ने सोच लिएको छु । देशमा स्थायी सरकार गठन गरेर दिगो विकासमा योगदान दिन म सक्षम छु ।
आदिवासी, जनजाति, पछाडि पारिएका समुदाय, उत्पीडनमा परेका समुदायको समस्या समाधान गर्न लाग्नेछु । यहाँ बाढीपीडित क्षेत्र छ, पुल नभएको ठाउँमा पुल निर्माण, ग्रामीण सडक स्तरोन्नति, धनगढी विमानस्थलको स्तरोन्नति, नदी कटान नियन्त्रण गर्ने तथा शिक्षाको गुणस्तर वृद्धि गर्ने एजेन्डालाई मैले प्राथमिकतामा राखेको छु ।
पाँच वर्षमा क्रमिक रूपमा गर्ने सक्ने योजनालाई प्राथमिकताका आधारमा एजेन्डा बनाएर मतदाताका बीचमा गइरहेको छु । चुनावी एजेन्डा जे–सुकै भए पनि अबको एजेन्डा भनेको विकास नै हो । त्यहीअनुसार विकासलाई मुख्य एजेन्डा बनाएर अगाडि बढेको छु ।
मेरो कर्मथलो यही भएकाले मलाई प्रचार–प्रसारमा कठिनाइ छैन । मैले कति काम गरेको छु, त्यो यहाँका जनतालाई थाहा भएकै कुरा हो । फेरि पनि विकासका लागि मतदाताहरूले एकचोटि काम गर्ने अवसर दिनुहुन्छ भन्ने अपेक्षा गरेको छु ।