पर्यटन पूर्वाधार अभाव

नेपालकै उत्कृष्ट १० पर्यटकीय गन्तव्यका रूपमा रहेको पाल्पामा पर्यटक आकर्षणका लागि पूर्वाधारहरू निर्माण हुन सकेको छैन । आन्तरिक तथा बाह्य पर्यटकको प्रवल सम्वना भएको पाल्पामा पर्यटकीय क्षेत्रको पर्यटन गुरुयोजनाअनुसार पर्यटन क्षेत्र पूर्वाधार विकास कागजमा मात्रै सीमित बनेको छ ।
साविकको जिल्ला विकास समितिको मातहतमा पर्यटनसम्बन्धी आवधिक योजनाहरूको खाका बनाउने, पूर्वाधार निर्माण, ऐतिहासिक तथा पुरातात्विक पर्यटकीय क्षेत्रहरूको मर्मत काम सुरु गरिए पनि पूरा हुन सकेको छैन ।
पर्यटन वर्ष २०११ पछि पर्यटन गुरुयोजना बनाउने काम सुरु भएको भए तापनि अझैसम्म पनि पूरा हुन नसकेको हो । गुरुयोजनाअन्तर्गत ३ वटा टुर प्याकेजहरू निर्माण, पदयात्रा मार्गको पहिचान गर्ने, ऐतिहासिक मठ, मन्दिर, गढी, किल्लाहरूको संरक्षण, प्रचार–प्रसार, उत्खनन्लगायतका कामहरू गर्ने भनिए तापनि ति कामहरू अझैंसम्म भएका छैनन् । जिल्लामा कुन क्षेत्रलाई कुन प्रयोजनका लागि लगाइने र पर्यटन प्रवद्र्धनका लागि के गर्ने भन्ने अहिलेसम्म कुनै योजना नै बन्नै सकेको छैन ।
ग्रामीण पर्यटन क्षेत्र (होम स्टे) हरू घोषणा गरिए पनि त्यसक्षेत्रमा समेत पूर्वाधार निर्माणका कामहरू शून्य छन् । जिल्लाकोे रानीमहल, रुरु क्षेत्र, रिडी, रिब्दीकोटलगायतका पर्यटन उन्मुख क्षेत्रहरूका साथै भैरवस्थान, तानसेनको नारायणस्थान, भगवतीस्थान, गणेश मन्दिर, तेल्घाको गुफालेख, बराङदी, राम्दी, रामपुर, रम्भापानी, माथागढी, बाकुमगढी, सत्यवती, प्रभास क्षेत्र, माडी, दोभान पाटनलगायतका विभिन्न प्रसिद्ध मठ मन्दिरहरू रहे पनि ती कुनै पनि क्षेत्रमा पूर्वाधारहरू निर्माणका लागि पहल भएको छैन ।
तानसेन नगरपालिका र विभिन्न गाउँपालिका भित्रका केही पूर्वाधारहरू निर्माण सुरु गरिए पनि अपुरो छ । नगरभित्र विभिन्न ठाउँमा करोडौं खर्चिएर बनाइएका कालोपत्रे सडक योजना सम्पन्न नहुँदै ठाउँ–ठाउँमा भत्किसकेका छन् । तानसेन श्रीनगर भ्यूटावर र श्रीनगर पार्कको फाउन्डेसनको कामसमेत अझै सकिएको छैन ।
पाल्पा जिल्ला तथा नगरपरिषद्बाट तानसेनलाई ‘शिक्षा, स्वास्थ्य, पर्यटन, कुटिर उद्योग र सांस्कृतिक सम्पदा सहितको पूर्वाधार पर्यटकीय सांस्कृतिक नगरको मूल आधार’ भन्ने नारा तय गरिएको थियो तर ती नारा अहिले कागजमै सीमित भएको छ ।
तानसेनको नगर विकास कोषबाट ऋण अनुदान सहायतामार्फत नगरको उपयुक्त स्थानमा करिव २ करोड लागतमा बस टर्मिनल निर्माण गर्ने, श्रीनगर हिलपार्क निर्माणको लागि मास्टर प्लानबमोजिम नेपाल सरकारबाट प्राप्त रकम कार्यान्वयन गर्ने, करिब एक करोड लागतमा वंशगोपाल पार्क निर्माण, ५० लाख लागतमा चक्रपथ निर्माण गर्ने जस्ता नगर विकास योजनाहरू तेह्रौं नगरपरिषद्ले पारित गरेको भए तापनि काम भएका छैनन् । जिल्लाका पर्यटन क्षेत्रमा काम गर्ने संस्थाहरूसमेत निश्क्रिय छन् । सरकारले पर्यटन विकासका लागि पाल्पा जिल्लालाई करोडौं रकम खर्चिए पनि पूर्वाधारहरू निर्माण नहुने र पर्यटन सम्बद्ध संस्थाहरू निश्क्रिय रहने हो भने सरकारको लक्ष्यअनुसार पाल्पामा पर्यटन भित्र्याउन असम्भव नै रहने व्यावसायीहरू बताउँछन् ।
जिल्लामा पर्यटन पूर्वाधारहरू नहुँदा यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई एक घण्टा बिताउन पनि गाह्रो हुने गर्छ, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठले भने, पाल्पा आउने पर्यटकको बसाई बढाउन र पाल्पालाइ पर्यटन ट्रान्जिट प्वाइन्ट बनाउन पर्यटकीय पूर्वाधारहरूको निर्माण गर्नु नितान्त आवश्यक छ ।
सरकार र निजी क्षेत्रको सहकार्य भएमा पाल्पामा पर्यटकीय पूूूर्वाधार निर्माणमा कुनै समस्या नरहेको पाल्पाली व्यवसायीहरूको भनाइ छ, जिल्लाको जति प्रचार भएको छ, सोही अनुसार पूर्वाधार व्यवस्थापन नहुँदा यहाँ घुम्न आउने पर्यटक निराश बनेर जाने गर्छन् ।
पाल्पाका सफ्टवयरअन्तर्गत प्रचार–प्रसार, पर्चा पम्पलेटलगायतका काम भए तापनि हार्डवयर अन्तर्गतको पूर्वाधार निर्माणमा अन्य स्रोतबाट आशातीत सहयोग नभएकाले पूर्वाधार विकास गर्न नसकिएको जिल्ला समन्वय समितिका वरिष्ठ कार्यक्रम अधिकृत दुर्गा थापाले बताए । त्यही पनि योजनाअनुसारका कामका सुरुवात भने भएका छन् ।
अमृत अधिकारी