ढुंगेललाई आममाफी दिएकोमा कांग्रेसको आपत्ति

नेपाली कांग्रेसले ज्यान मुद्दामा सजाय काटिरहेका तत्कालिन नेकपा माओवादीका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिएकोमा आपत्ति जनाएको छ । मंगलबार बजेट भाषण सुरु हुनुअघि विशेष समयमा बोलेका सांसद गगन थापाले गणतन्त्र दिवसका अवसरमा ढुंगेललाई माफी दिइएकोमा आपत्ति जनाए ।
गणतान्त्रिक मुलुकमा प्रधानमन्त्री राजा हुन नसक्ने भन्दै उनले ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका ढुंगेललाई कैद मिनाह गरी जेलमुक्त गरिनु गलत भएको बताए । राजतन्त्र रहँदा राजाले जस्तो बक्सिस दिएर ज्यान मुद्दाका कैदीलाई रिहाइ गरिएको भन्दै उनले भने, “हिजो राजा होइबक्सन्थ्यो । यो गणतन्त्र हो । गणतन्त्रमा प्रधानमन्त्री राजा होइबक्सन्न ।”
ढुंगेलको विषय सत्य निरुपणको विषय नभएको भन्दै चालचलन ठीक भएको भनेर कैद मिनाहको निर्णय गर्न नमिल्ने उनको जिकिर थियो ।