Logo

रक्षा र शान्तिसुरक्षामा ९९ अर्ब ४२ करोड

सुरक्षा निकायको आधुनिकीकरण र क्षमता अभिवृद्धिलाई प्रमुख प्राथमिकतामा राख्दै सरकारले रक्षा र शान्तिसुरक्षा व्यवस्थापनमा करिव १ खर्ब रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७५/७६ को वार्षिक आयव्यय विवरण सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको शान्तिसुरक्षा र रक्षा बजेट ९९ अर्ब ४२ करोड २६ लाख रुपैयाँ रुपैयाँ विनियोजन गरेका हुन् । यो रकम आगामी आवका लागि विनियोजित १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको ७.५६ प्रतिशत हो । करिव २ लाख सुरक्षाकर्मी कार्यरत सुरक्षा संगठनको चालू र पुँजीगत शीर्षकमा गतवर्ष वर्षको चुनावी सरकारले चालू आवका लागि शान्तिसुरक्षा र प्रतिरक्षा बजेट १ खर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको थियो ।
गतवर्ष सार्वजनिक गरिएको चालू आवको कूल बजेट १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको रहेकोमा गृह र रक्षा मन्त्रालयका लागि विनियोजित बजेटको हिस्सा करिव ८ प्रतिशत रहेको छ । चालू आवका लागि चुनाव र सेनाको हेलिकप्टर खरिद बाहेक विनियोजित बाहेक सैनिक सुरक्षामा ४४ अर्ब ९५ करोड ५९ लाख २० हजार र सार्बजनिक शान्तिसुरक्षा तर्फ ५० अर्ब ६२ करोड ८९ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको थियो ।
“मुलुकमा प्रभावकारी शान्तिसुरक्षा र अमनचयन कायम गरी जनतामा सुरक्षाको अनुभूति गराई विकास र समृद्धिका लागि अनुकूल बाताबरण निर्माण तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी वल नेपालको क्षमता अभिवृद्धि गरी आधुनिक र व्यवसायिक तुल्याइने छ ।” आगामी आवक लागि सार्वजनिक गरिएको बजेट बक्तब्यमा भनिएको छ ।
संघीय अवधारणा अनुसार नेपाल प्रहरीको संरचना विस्तार, सुरक्षा निकायलाई हातहतियार तथा भिडनियन्त्रणका सामान खरिद, सेनालाई हेलिकप्टर खरिद, सुरक्षाजन्य प्राविधिक उपकरण लगायतमा मन्त्रीपरिषदबाट बजेट भन्दा बाहिरबाट खर्च व्यवस्थापन समेत हुँदै आएको छ ।
२०६७ सालबाट थालिएको नेपाली सेनाको ‘बंकरबाट ब्यारेक’ कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिइएको छ । २०६७ देखि २०७२ सम्म ५ वर्षसम्म १ अर्ब रुपैयाँका दरले सेनाको बंकर विस्थापन गरी सुरक्षित आवास निर्माणमा बजेट बिनियोजन गरेकोमा त्यसपछिको ४ वर्षमा ५० देखि ७० करोड रुपैयाँ सम्म सेनाको ब्यारेक निर्माणमा खर्च हुँदै आएको थियो । यसैगरी सरकारले मानव तस्करी र साइवर अपराध विरुद्धको कारबाहीलाई थप सशक्त बनाउँन छुट्टाछुट्टै मानव बेचविखन र साइवर अपराध व्यूरो गठन गर्ने भएको छ । व्यूरो स्थापनासँगै यसको जिम्मेवारी र प्रभावकारीता थप सशक्त हुने नेपाल प्रहरीका अधिकारीले जनाएका छन् । यस्तै देशभरका कागागारको सुधार योजनालाई यस पटक पनि निरन्तरता दिइएको छ । देशभरका कैदीवन्दीले पाउँने दैनिक भत्ता रकम ४ सय ५० रुपैयाँले बढेको छ । यसअघि चामल बाहेक दैनिक ४५ रुपैयाँ भत्ता रकम पाउँदै आएका सबै कैदीवन्दीले आगामी साउनदेखि ६० रुपैयाँ पाउँने छन् ।
“नेपाली सेनाको बंकर देखि ब्यारेक कार्यक्रमलाई निरन्तरता दिइने छ, साइबर अपराध र मानव बेचविखनको वदलिदो स्वरुपलाई मध्यनजर गरी नेपाल प्रहरीमा साइवर व्यूरो र मानव बेचविखन व्यूरो स्थापना गरीने छ,” बजेट बक्तब्यमा भनिएको छ, “कारागारहरूमा रहेका कैदीलाई प्रदान गरिने दैनिक जीवन निर्वाह खर्च ४५ रुपैयाँबाट बढाएर ६० रुपैयाँ पुराइएको छ ।”

आव  रक्षा  गृह
२०७५/७६ (आगामी आव) ४५.११ अर्ब  ५४.३१ अर्ब
२०७४/७५ (चालू आव)  ४५.८ अर्ब  ५५.९ अर्ब
२०७३/७४ ३५.६७ अर्ब  ४९.४४ अर्ब
२०७२/७३ ३३.४५ अर्ब  ३९.५३ अर्ब

प्रतिक्रिया दिनुहोस्