निर्वाचन क्षेत्रमा बजेट बाँड्नु संघीयता विपरीत «

निर्वाचन क्षेत्रमा बजेट बाँड्नु संघीयता विपरीत

डा. उमाशंकर प्रसाद
अर्थविद्
बजेटमा सकारात्मक र नकारात्मक पक्षको दस्तावेज छ । संघीयताको अवधारणा अनुरूपको बजेट आएको हो भन्न सकिने आधार नभए पनि यसमा केही राम्रा पक्ष पनि समेटिएका छन् । संघीयतामा सांसदलाई खर्च रकम बाँडिदैन । उनीहरूले बजेटलाई कार्यान्वयन र योजना एवं नीति बनाउन प्रेरित गर्नुपर्ने हुन्छ । त्यसो हुने सम्भावना यो बजेटले देखाएको छैन । सासदहरूको निर्वाचन क्षेत्रमा ४ करोड बजेट छुट्याउने काम संघीयताको अवधारणा विपरित रहेको छ ।
प्रदेश र स्थानीय तहमा बजेटको विनियोजन कम भएको छ । यो रकम प्रदेश र स्थानीय तहमा बाँडेको भए हुने थियो । त्यसो गरिएन । यो बजेटले प्रदेश र स्थानीय तहमा कूल बजेटको ३० देखि ३५ प्रतिशतको बीचमा विनियोजन गरेको छ । यो संघीयतामा कम विनियोजन हो । यो बजेटको राम्रो पक्षमा कर प्रणालीको अवधारणा हो । प्रगतिशील कर लगाउने कुरो बजेटको राम्रो पक्ष हो । प्रधानमन्त्री रोजगार योजना यो बजेटको राम्रो पक्ष हो । भ्याटका डिफल्टरका लागि गरिएको प्रावधानसम्बन्धी बजेटको राम्रो पक्ष हो । मदिरा चुरोट र सुर्तीजन्य वस्तुमा थपिएको करको विषय राम्रो हो । सुधारका लागि गरिएका प्रयास राम्रा छन् ।
कतिपय क्षेत्रमा गरिएको विनियोजन न्यून देखिएको छ । मानवीय विकास सूचकांकका आधारमा बजेटले विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने थियो । त्यो देखिएन । जनसंख्याका आधारमा बजेट विनियोजनमा ध्यान पुराउन सक्नुपर्ने थियो । त्यसो गरेको पाइँदैन । तर पनि यो बजेट पुरानो शैलीको भएको छ । केन्द्रीकृत मानसिकताबाट अलग भइ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक बजेट बनाइएको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्