माइक्रोवेभमार्फत टेलिकमको जीएसएम सेवा «

माइक्रोवेभमार्फत टेलिकमको जीएसएम सेवा

नेपाल टेलिकमले भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा उपलब्ध गराइरहेकामा हाल माइक्रोवेभ प्रविधिमार्फत प्रतिस्थापन गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । कतिपय नयाँ स्थानमा समेत यो प्रविधिबाट सेवा सञ्चालन भइरहेको छ । हालै पूर्वाञ्चलका सोलुखुम्बु, ताप्लेजुङ, ओखलढुंगा, उदयपुर, मोरङ, झापा, सप्तरी र सुनसरी जिल्लाका विभिन्न स्थानमा बीटीएस स्थापना गरी माइक्रोवेभ प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालन गरिएको छ । पुरानो प्रविधिमा भ्वाइस सेवा मात्र उपलब्ध भइरहेकोमा अब नयाँ प्रविधिमार्फत मोबाइलमा भ्वाइस र डाटा दुवै सेवा उपलब्ध गराउन सकिन्छ ।
सोलुखुम्बुको गुदेल, ताप्लेजुङको लेलेप, ओखलढुंगाको निसंखे र उदयपुरको खसिबासमा माइक्रोवेभ प्रविधिमार्फत सेवा सञ्चालन गरिएको छ । त्यसैगरी सोलुखुम्बुको खरीखोला, जुनीबेसी र छेसक्याममा पहिले भिस्याटमार्फत सेवा सञ्चालन भइरहेकोमा हाल माइक्रोवेभमार्फत नयाँ प्रविधिमा जीएसएम सेवा सञ्चालन भएको छ । झापाको भद्रपुर १, दमक नगरपालिका, लखनपुर र मेचीनगर, मोरङको बेलवारी १, २ र ३, मोरङकै दुलारी, सुन्दरपुर तथा उर्लाबारी ४ र ५, सप्तरीको अर्नाहा १ र इनर्वा फुलबारिया १; सुनसरीको हासपोसा, इनरुवा नगरपालिका, इटहरी र महेन्द्रनगर तथा उदयपुरको सिद्धिपुर १ र त्रियुगा ५ मा हालै माइक्रोवेभमार्फत नयाँ प्रविधिमा जीएसएम सेवा सञ्चालनमा आएको छ । अब ती स्थानमा मोबाइलमार्फत कुराकानी गर्ने सुविधा उपलब्ध हुनुको साथै डाटामार्फत विभिन्न वेबसाइट चलाउन तथा देश विदेशमा भएका आफन्तहरूसँग भिडियो कलसमेत गर्न सकिने टेलिकमले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्