Logo

अर्थमन्त्रीले ल्याए १३ खर्ब १५ अर्बको बजेट, ८ प्रतिशतको आर्थिक बृद्धि लक्ष्य

सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले ब्यवस्थापिका संसदमा बजेट पेश गर्दै आगामी आर्थिक बर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएका हुन् ।
यस्तो रकमको खर्चबाट आगामी आर्थिक बर्षमा ८ प्रतिशतको आर्थिक बृद्धि हुने अर्थमन्त्रीको भनाइ छ । सरकारले आगामी आर्थिक बर्षको मूल्य बृद्धि ६.५ प्रतिशतको सीमामा राख्ने जानकारी दिएको छ ।
यस्तै, सरकारले कर्मचारीहरुको तलब बढाएन । तर, अर्थमन्त्री खतिवडाले भत्ता भने २ हजार रुपैयाँले बढाए । कर्मचारीहरुले अब वार्षिक १० हजार रुपैयाँ पोशाक भत्ता पाउने छन् ।
त्यसैगरी, निजामति कर्मचारीको २ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाइएको र त्यसको ५० प्रतिशत प्रिमियम सरकारले नै तिरिदिने अर्थमन्त्रीले बताए । ५० प्रतिशत बीमाशुल्क भने सम्बन्धीत कर्मचारीले नै तिर्नुपर्ने छ ।
साथै, सांसद्हरुले सिधै खर्च गर्ने विवादित बनेको निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बढेको छ । ३ करोड रहेको निर्वाचन क्षेत्र विकास कार्यक्रमको लागि अर्थमन्त्री डा युवराज खतिवडाले ४ करोडको पुर्याएका छन् । सो कार्यक्रम मार्फत ५ वटा आयोजना ३ वर्षसम्मको लागि संचालन गर्न पाउने अर्थमन्त्री खतिवडाले बजेट भाषणमा उल्लेख गरेका छन् । १६५ वटा निर्वाचन क्षेत्रको लागि निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत ६ अर्ब ६० करोडभन्दा बढी रकम बजेट छुट्याइएको छ ।
यस्तै, साना किसान सहकारी संस्थाबाट लिइएको ऋण सबै मिनाहा हुने भएको छ । सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत यस्तो कार्यक्रम ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्