१० वर्षमा समृद्ध गजुरी

किराञ्चोक, पिडा र गजुरी गाविस गाभेर बनाएको गजुरी गाउँपालिकालाई अबको १० वर्षमा समृद्ध गजुरी गाउँपालिका बनाउन १० वर्षे गुरुयोजना तर्जुमा अन्तिम चरणमा पुगेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, कृषि तथा पशुपाल, वन, पर्यटन, महिला तथा बालबालिका, पूर्वाधार विकास, गैरसरकारी संस्था, उद्यमी व्यवसायी र सहकारीसम्बन्धी दुई सय मुख्य प्रश्नावली र १५० भन्दा बढी सहायक प्रश्नावली प्रत्येक घरधुरीमा पुगेर अन्तर्वार्ता गरी सूचना संकलन गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताए ।
समुदायको आवश्यकता, सुमदायकै सहभागिता र समुदायद्वारा तर्जुमा गरिएको योजना भएमात्र समुदायको अपनत्व हुने भएकाले सहभागितात्मक रूपमा योजना तर्जुमा गर्न कार्यपालिका बैठकले निर्णय गरेको छ । सरोकारवाला अभिमुखीकरण, गुरुयोजना तर्जुमा समन्वय समिति गठन, बृहत विषयमा घरधुरी सर्भे, अगुवासँग समूह छलफल, अग्रज नेतृत्व अन्तर्वार्ता, गरिएको उपाध्यक्ष सीता ढुंगानाले बताइन् ।
गजुरी गाउँपालिकामा रहेको ६२ सय ४१ घरधुरीमध्ये ५७ सय ९१ घरधुरीमा सर्भेक्षण गरिएको र बाँकी घरधुरीमा मानिस अन्यत्र बसोवास गरेकाले सर्भे गर्न नसकिएको तथ्यांकविद अर्जुन भट्टराईले बताए । सर्भेक्षणले ८४ प्रतिशत घरमुली पुरुष रहेको देखाएको छ । जनसंख्या वृद्धिदरभन्दा मृत्युदर बढी रहेको छ । तामाङ २५ प्रतिशत र चेपाङ १४ प्रतिशत जनसंख्या रहेको छ । अन्यन्त्रबाट बसाइँ सराइ गरेर आउने क्रम बढ्दो छ । २०८६ सालसम्म ७१ सय ७ घरपरिवार र ३७ हजार २९७ जनसंख्या हुने प्रक्षेपण गरिएको भट्टराईले बताए ।
यो गाउँपालिका जलस्रोतमा पनि सबल देखिएको छ । यहाँ त्रिशूली नदी, मलेखु खोला, गलौंदी खोला, दरियाल खोला र बेल्खु खोलाका साथै ससाना खोल्सी प्रशस्त छन् । विविध हावापानी, बेंसी, टार, लेकले उत्पादनमा विविधता, १४ किमि पृथ्वी राजमार्ग, साविक वडामा मोटर बाटो पुगिसकेको, मानवीय तथा प्राकृतिक स्रोत पर्याप्त, बाँस अम्रिसो, निगालो उत्पादन, वर्खे आलुसमेत उत्पादन, दुईबाली धान उत्पादन गर्दै आएकोले गजुरी गाउँपालिकाको समृद्धि टाढा नरहेको गुरुयोजना तर्जुमा विज्ञ समूहको नेतृत्व गर्दै आएका स्थानीय डा. षढानन्द कँडेलले बताए ।
महाभारत शृंखलामा कम तौल बढी आम्दानी हुने खालका कृषिजन्य वस्तुको उत्पादन गर्नुपर्ने, कृषकहरूलाई स्रोतसाधन र सीपयुक्त बनाउनु पर्ने, कृषि तथा पशुविमा प्रभावकारी तथा अनिवार्य बनाउनुपर्ने सामुदायिक वनको अधिकतम उपयोग गर्नुपर्ने, कृषि ऋण सर्वशुलभ बनाई कृषि पर्यटनमा जोड दिनुपर्ने विज्ञ समूहका सदस्य तथा स्थानीय डा. तारानाथ पाण्डेले बताए ।
विकास कार्यक्रम त्यतिबेला उपलव्धिमूलक हुन्छ, जतिबेला विकासको योजना तर्जुमा समुदाय आफैले गर्छ । त्यस कारण समुदायकै सक्रिय सहभागितामा हरेक वडामा पुगेर समुदायलाई योजना तर्जुृमा कार्यशाला गराउन लागेको विज्ञ समूहका डा. कमल फुयाँलले बताए । हरेक वडाले १० वर्षका लागि योजना तयार गर्दछन् । त्यसैगरी गाउँपालिका तहमा दीर्घकालीन तथा गौरवका योजना तर्जुमा गरिने डा. फुयाँलले बताए ।