उपभोक्ता ठग्ने पम्पमा शिलबन्दी «

उपभोक्ता ठग्ने पम्पमा शिलबन्दी

ललितपुरका दुइटा पेट्रोल पम्पले उपभोक्ता ठगेको फेला परेपछि शिलबन्दी गरिएको छ । सातदोबाटोस्थित महालक्ष्मी विश्वकर्मा ट्रेडर्स र एकान्तकुनास्थित प्रशान्ति आयल स्टोरले कम पेट्रोल वितरण गरी उपभोक्ता ठग्ने गरेको फेला परेपछि शिलबन्दी गरिएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा नेपाल गुणस्तर तथा नापतौल विभाग र आयल निगमका प्राविधिकसहितको टोलीले सोमबार गरेको अनुगमनका क्रममा दुइटा पम्पले कम इन्धन दिएर उपभोक्ता ठगी गरेको फेला पारेको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीका स्वकीय सचिव सन्तोष विष्टले अनुगमनका क्रममा सातदोबाटोमा रहेको महालक्ष्मी विश्वकर्मा ट्रेडसले १० लिटरमा ४० एमएल पेट्रोल कम दिने गरेको पाइएको बताए । एकान्तकुनास्थित प्रशान्ति आयल स्टोरले १० लिटर बिक्री गर्दा ३० एमएल पेट्रोल कम बेच्ने गरेको अनुगमनका क्रममा फेला परेको छ । तौलमा कम दिई पेट्रोल वितरण गर्ने दुईवटा पम्पमा गुणस्तर तथा नापतौल विभागले शिलबन्दी गरेको छ । के कारणले कम तौल दिएको ३ दिनभित्र स्पष्टीकरण पेश गर्न पनि विभागले निर्देशन दिएको छ । अनुगमन टोलीले शिवशक्ति आयल स्टोर र गायत्री आयल स्टोरमा समेत अनुगमन गर्दा कैफियत नभेटेको जानकारी दिएको छ ।
लामो समयदेखि रोकिएको बजार अनुगमनको कामलाई एकीकृतरुपमा अगाडि बढाइने भएको छ । पेट्रोल पम्पमा नियमितरुपमा अनुगमन गर्ने मन्त्रालयले जानकारी दिएको छ । उपत्यकामा रहेका अधिकांश पेट्रोलपम्पले कम पेट्रोल वितरण गरी ठगी गर्ने गरेको गुनासो उपभोक्ताले गरेपछि अनुगमन शुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्