गणतन्त्र दिवसमा टेलिकमको अफर «

गणतन्त्र दिवसमा टेलिकमको अफर

नेपाल टेलिकमले गणतन्त्र दिवस २०७५ को अवसरमा पारेर ‘मिस्ड कल एलर्ट’ लाई पुनः सञ्चालनमा ल्याएको छ । बुधबारदेखि लागू हुने गरी कम्पनीले जीएसएम पोस्टपेड तथा प्रिपेड मोबाइलमा यो सेवा उपलब्ध गराएको हो । सेवा शुभारम्भ भएपश्चात् सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसका बारेमा एसएमएसमार्फत नोटिफिकेसन आउनेछ । सेवा शुभारम्भ गर्नका लागि उपभोक्ताले एसयुवी एमसीए लेखेर १४०० मा एसएमएस गर्ने वा एस्ट्रिक १४०० ह्याज डायल गर्नुपर्ने कम्पनीले जनाएको छ ।
टेलिकमको जीएसएम मोबाइल फोन प्रयोगकर्ताहरूलाई हाल यो सेवा १५ दिनका लागि कम्पनीले निःशुल्क उपलब्ध गराउने भएको छ । त्यसपछि भने मासिक रूपमा ५ रुपैयाँ शुल्क लाग्नेछ । यस्तैगरी गणतन्त्र दिवसकै अवसरमा कम्पनीले १८ रुपैयाँमै एक घण्टासम्म भ्वाइस, एसएमएस र डाटा चलाउन सकिने ‘अनलिमिटेड प्याक’ अफर ल्याएको छ । जीएसएम तथा सीडीएमए मोबाइल प्रयोगकर्ताले सो अफर उपभोग गर्न सक्ने छन् । प्रयोगकर्ताले एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र जति पनि कल गर्न र एसएमएस पठाउन तथा डाटा चलाउन सक्ने छन् । त्यसैगरी १२ रुपैयाँमा कम्पनीको नेटवर्कभित्र १ सय २० वटा एसएमएस पठाउन सकिने ‘एसएमएस प्याक’ पनि ल्याएको छ । सो प्याक ५ दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ । अनलिमिटेड प्याक र एसएमएस प्याक आज (मंगलबार)देखि आगामी जेठ २८ गतेसम्म खरिद गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्