भनसुनमा ट्रेडमार्क दिने परिपाटी अन्त्य गर्न माग «

भनसुनमा ट्रेडमार्क दिने परिपाटी अन्त्य गर्न माग

एउटै समूह र उद्योगीले उत्पादन गरेका सामग्रीका लागि एउटै ट्रेडमार्क प्रयोग गर्न पाउने व्यवस्था मिलाउन पूर्वका उद्योगी व्यवसायीले माग गरेका छन् । “जुत्ता र लुगाजस्ता मानवीय पहिरनका विविध सामग्रीको उत्पादक एउटै समूह वा उद्योगी छ भने त्यस्ता सामग्री एउटै ट्रेडमार्क प्रयोग गर्न पाउनुपर्छ,” नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का कार्यबाहक अध्यक्ष राजेन्द्र राउतले भने, “पहिरनका विविध वस्तुमा एउटै ट्रेडमार्कको प्रयोग विदेशमा पनि सफल र सार्थक भएको पाइन्छ ।”
राउतले ट्रेडमार्कको नवीकरण सात वर्षमा गरिनुपर्ने प्रावधानलाई संशोधन गर्दै तीन वर्ष गर्न माग गरे । विराटनगरमा सोमबार भएको कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले भनसुन, प्रभाव र प्रलोभनका आधारमा ट्रेडमार्क दिने परिपाटीको अन्त्य गर्न आग्रह गरे । “पहुँच र भनसुनका भरमा टे«डमार्क दिने गरिन्छ,” सारडाले भने, “त्यस्तो परिपाटी तुरुन्त अन्त्य हुनुपर्छ ।”
उनले कानुनअनुसार दिनै नहुने प्रकारका ट्रेडमार्कलाई पनि उद्योग विभागले स्वीकृति दिएको दाबी गरे । उद्योग संगठन मोरङका पूर्वअध्यक्ष शिवशंकर अग्रवालले नाम चलेका उद्योग र बहुराष्ट्रिय कम्पनीका ट्रेडमार्कको कपीपेस्ट गर्ने प्रवृत्ति अन्त्य गर्न विभाग सक्रिय हुनुपर्नेमा जोड दिए ।
औद्योगिक, बौद्धिक सम्पत्तिसम्बन्धी अन्तक्र्रियामा उद्योग विभागका महानिर्देशक शंकर अर्यालले नाम चलेका र ख्याति प्राप्त ब्रान्डको नक्कल नै अहिलेको मुख्य समस्या रहेको बताए । ट्रेडमार्कको क्षेत्र विस्तृत र जटिल भएको उल्लेख गर्दै महानिर्देशक अर्यालले विदेशी वस्तुको ट्रेडमार्क पनि नेपालमा यसअघि दर्ता गरिएको तथ्य स्वीकारे । विभागले सकेसम्म नियन्त्रण गरेको जानकारी दिँदै उनले कहिलेकाहिँ उद्यमीले विभागलाई झुक्याउन सफलता पाए पनि उनीहरूलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाए ।
विभागका निर्देशक डन्डपाणि भुसालले नेपालमा व्यावसायिकता नभएको बताए । नेपालको औद्योगिक इतिहासको ८० वर्षमा ८० वटा पेटेन्ट राइट पनि दिन सकेको स्थिति छैन । नेपालमा हालसम्म ७६ वटा पेटेन्ट राइट दर्ता भएकोमा ३७ वटा मात्र नेपाली भएको भुसालले जानकारी दिए । त्यस्तै ४४ हजार ३ सय ८० वटा ट्रेडमार्कमा २९ हजार ३६ र १ सय ५१ वटा डिजाइनमा ६३ वटा नेपाली भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्