ठुला आयोजनाको डिपीआर नेपाली इन्जीनियरिङ्ग

ठूला जलविद्युत् आयोजनाहरूको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) विदेशी परामर्शदाता कम्पनीबाटै मात्र हुने गरेकामा ४२६ मेगावाटको फुकोट जलविद्युत् आयोजनासहित दुई ठूला आयोजना नेपाली कम्पनीबाटै गरिने सम्झौता भएको छ । विद्युत् उत्पादन कम्पनी लिमिटेडले अघि बढाउन लागेको फुकोट जलविद्युत् आयोजना र राष्ट्रिय योजना आयोगले प्रत्येक स्थानीय निकायमा ऊर्जा उत्पादन गर्ने गरी अघि बढाउन लागेको योजनाको अध्ययन नेपाली कम्पनीबाटै हुन लागेको हो । आयोगले ७ सय ५३ निकायमै ऊर्जा उत्पादन गर्ने गरी योजना अघि बढाएकोमा यसको अध्ययन कार्य कम्पनीले अघि बढाएको छ ।
दुवै आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनको काम नेपाली विद्युत् प्राधिकरणकै सहायक कम्पनीको रूपमा गठित इन्जिनियरिङ कम्पनीले गर्ने गरी सम्झौता भएको हो । विगतमा भएका अधिकांश ठूला जलविद्युत् आयोजनाहरूको लागि विदेशी परामर्शदाता कम्पनी ल्याउनुपर्ने र उनीहरूले मात्र डीपीआर निर्माण गर्ने गरेका थिए । करिब आठ महिना अघि २६ वैशाखमा दाता भएको र साउनदेखि मात्र कारोबारलगायतका व्यवस्थापनका लागि स्वीकृति पाएको इन्जिनियरिङ कम्पनीले ४२६ मेगावाट आयोजनाको एवं इन्जिनियरिङ डिजाइनको काम अघि बढाउन उत्पादक कम्पनी र ऊर्जा उत्पादनको काम अघि बढाउन आयोगसँग सम्झौता गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यले जानकारी दिए । “भर्खरै गठन भएको इन्जिनियरिङ कम्पनीले १८ महिनाभित्र विस्तृत अध्ययन र इन्जियिरिङ डिजाइन गर्नका लागि उत्पादन कम्पनी र आयोजनासँग सम्झौता गरेको छ ।”–प्रमुख कार्यकारी अधिकृत शाक्यले भने–“आवश्यकताको आधारमा फुकोटमा केही विदेशी परामर्शदाता समेत ल्याएर विस्तृत अध्ययनको काम अघि बढाउँछौं ।” उनका अनुसार विगतमा डीपीआरका लागि विदेशी परामर्शदाता कम्पनी र परामर्शदाताहरूलाई नै बढी ल्याउने गरिएकोमा यति ठूला आयोजनाको विस्तृत अध्ययन गर्ने यो नेपालको पहिलो परामर्शदाता कम्पनी हो । यसैगरी ५ वर्षभित्र ५ सय किलोवाटदेखि एक मेगावाटसम्मको ऊर्जा उत्पादनका आयोजनाहरू अघि बढाउने लक्ष्यसहित कम्पनीले अध्ययन अघि बढाएको र तीन महिनाभित्र अध्ययन सम्पन्न गर्ने लक्ष्य कम्पनीले राखेको छ । यसका लागि सोमबारदेखि सबै जिल्लामा ३२ जना प्राविधिक संलग्न १६ टोली खटाइएको प्रमुख कार्यकारी अधिकृत शाक्यले जानकारी दिए ।
डीपीआर गर्नका लागि नेपालमा पूर्ण रूपमा विज्ञ नभएकाले आवश्यकताको आधारमा थोरै विदेशी परामर्शदाता ल्याएर फुकोटको डीपीआर सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ ।
कालिकोटको कर्णाली नदीमा निर्माण हुन लागेको यो आयोजना पिकिङ रन अफ दि रिभर (पीआरओआर) आयोजना हो । २१ सय १०.०२ गिगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजना सेना, प्रहरी, शिक्षक र निजामती कर्मचारीले लगानी गरेर निर्माण गर्ने लक्ष्य राखिएको छ ।