नेपालगन्जमा यस बर्षकै सबैभन्दा बढी गर्मी «

नेपालगन्जमा यस बर्षकै सबैभन्दा बढी गर्मी

पश्चिम नेपालको सबैभन्दा महत्वपूर्ण ब्यबसायीक शहर नेपालगन्जमा यस बर्षकै सबैभन्दा बढी गर्मी भएको छ । अत्याधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन अस्तब्यस्त भएको छ ।
अत्याधिक गर्मीकै कारण नेपालगन्ज र सो वरिपरिका अधिकांश उद्योग, कलकारखाना र ब्यबसाय प्रभावित भएका छन् ।
जेठको तेस्रो सातामै नेपालगन्जको तापक्रमले ४५ डिग्रि नाघ्नुका साथै दिनभरी तातो हावा (लू) चल्न थालेपछि यहाँको जनजीवन निकै अस्तब्यस्त बनेको छ ।
अत्याधिक गर्मीले गर्दा सर्वसाधारण न्यून संख्यामा मात्र घर बाहिर निस्कने गरेकाले ब्यापार ब्यबसाय सबैभन्दा बढी प्रभावित भएको छ । अधिकांश पसलका संचालकहरु ग्राहक कुरेर बसेको देखिन्छ भने गर्मीकै कारण उद्योग कलकारखाना पनि राम्ररी संचालनमा आउन नसकेको नेपालगन्ज उद्योग बाणिज्य संघले जनाएको छ ।
गर्मीकै कारण नेपालगन्जका अधिकांश बिद्यालयलाई बिहान संचालन गरिएको छ । बिहान संचालन गर्दा पनि सरकारी र निजि दुबै बिद्यालयमा बिद्यार्थी संखया घट्दै गएको शिक्षा समन्वय ईकाई कार्यालय बाँकेले जनाएको छ ।
विरामी बढे
अत्याधिक गर्मी बढेका कारण बैशाखको अन्तिम सातादेखिनै नगरका अस्पतालहरुमा ह्वात्तै विरामी बढेका छन् । विरामीकै चापले अस्पतालहरुमा बेडको समेत अभाव हुन थालेको अस्पतालले बताएका छन् । गर्मी र चलेको तातो हावाले बिरामीको चाप बढेको अस्पतालका चिकित्सकहरु बताउँछन् ।
भेरी अञ्चल अस्पताल, नेपालगन्ज तथा कोहलपुर शिक्षण अस्पतालका साथै अन्य अस्पतालहरुमा दैनिक सरदर ४०–५० जना विभिन्न रोगका बिरामी उपचारका लागि आउने गरेका ती अस्पतालले जनाएका छन् । गर्मीका कारण लु लागेका, झाडा पखाला र बिभिन्न प्रकारका छालाजन्य रोगका बिरामीहरु अस्पतालमा बढी आउने गरेको नेपालगन्ज शिक्षण अस्पतालका चिकित्सक डा. आसिम किदवाइले बताए ।
अत्यधिक गर्मीकै कारण बाँके र बर्दियाका बालबालिकामा शरीरभरि रातो बिमिरा आउने र पाकेर घाउ बन्ने संक्रमण देखिएको पनि उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्