ओझेलमा बाराका तीन गन्तव्य «

ओझेलमा बाराका तीन गन्तव्य

बारा- बारामा पर्यटनको पर्याप्त सम्भावना भए पनि तिनको प्रवद्र्धन हुन सकेको छैन । प्रत्येक पाँच वर्र्षमा लाग्ने बाराको बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई मेलामा मेला अवधिभर करोड बढी दर्शनार्थी आउने गरे पनि अन्य समय धार्मिक पर्यटक आउने गरेको पाइँदैन । उचित प्रचार र सम्बन्धित निकाय र मन्दिरको संघसंस्था सुस्त रहँदा यस्तो अवस्था आएको हो ।
मेलाबाहेक अन्य समय प्रचारको अभावले आन्तरिक र भारतीय धार्मिक पर्यटक कमै मात्रामा आउने गरेको स्थानीय रामआशीष महतो बताउँछन् । “मेलाको अवसरमा धेरै बलि चढ्ने गरिएको कारणमात्र गढीमाई मेला विश्वप्रसिद्ध हुन पुगेको हो । त्यसबाहेक मागेको इच्छा पूरा गरिदिने विश्वासका कारण पहिल्यै भाकल गरेकाहरूले मेलाकै समयमा बली दिई चढाउने गर्दा पशुबलिले प्रसिद्धि पाएको कतै चर्चा हुँदैन,” महतो भन्छन् । करोडौं रकम दान दक्षिणामा चढाइएको पाइए पनि लेखाजोखा हुने गरेको पाईदैन ।
उता, आफ्नो शासनकालमा अत्यन्तै सुव्यवस्थित किल्लाको रुपमा रहेको बाराको सिम्रौणगढ राजधानी पर्यटकीय आकर्षणको रुपमा रहेको छ । ऐतिहासिक दरबारमात्र नभई सिम्रौणगढ क्षेत्र नै पर्यटकको लागि अध्ययन र त्यस बेलाको प्रत्यक्ष अनुभूति पाइने स्थल रहेको हँुदा पर्यटकको आकर्षण देखिएको हो ।
पुरातात्विक वस्तु र सांस्कृतिक सम्पदाहरू साथै दरबार क्षेत्र आफैंमा पर्यटकको आकर्षण बन्ने प्रष्ट आधार रहेको स्थानीय रामेश्वर मेहता बताउँछन् । मेहता भन्छन्, “स्थानीय कसैमा चासो नहुँदा सिम्रौण क्षेत्रमै यो अवस्था देखिएको हो ।”
त्यस क्षेत्रमा जाने पर्यटकका निम्ति फरक अनुभूति गराउन ठूलो आकारमा रहेको रानीबास दरबार नै उपयुक्त आश्रयस्थल बन्न सक्ने होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माले बताए । बाराको सदरमुकाम कलैयाबाट २२ किलोमिटर दक्षिण पूर्वमा पर्ने सिम्रौणगढ पुग्न कलैयाबाट १ घण्टा र वीरगन्जबाट डेढ घण्टा समयमा सजिलै पुग्न सकिन्छ ।
पर्यटकका लागि पर्याप्त पूर्वाधार निर्माण भईसकेपछि बाराको आधाभारस्थित पर्सा राष्ट्रिय निकुञ्ज पर्यटक कुरेर बसेको छ । आरक्षका सहायक संरक्षण अधिकृत विरेन्द्र कटेलका अनुसार केही स्वदेशी र एकाध भारतीय पर्यटक आए पनि संरचनाअनुसार पर्यटक नआएकै भने होे ।
रैथाने हात्ती जसका लागि यो आरक्ष नेपालमा प्रसिद्ध छ । निकुन्जभित्र यस्ता हात्तीदेखि ऐतिहासिक कामिनी दह, कर्मकुमारी धारा, शिकारी बास, दुग्धेश्वर महादेव, भेडानदी, सम्पन्न हातीसार जस्ता ऐतिहासिक र धार्मिक महत्व बोकेका रमणीय स्थल रहेको छ ।
प्रकाश लम्साल 

प्रतिक्रिया दिनुहोस्