प्रधानमन्त्री ओली भन्छन् : रेल र पानीजहाज दिउँसै देखेको सपना हो «

प्रधानमन्त्री ओली भन्छन् : रेल र पानीजहाज दिउँसै देखेको सपना हो

प्रधानमन्त्री केपी शर्मा ओलीले रेल र पानीजहाज चलाउने सपना आफूले निदाएको बेला नभइ दिउँसै देखेको भन्दै पाँच वर्ष पर्खन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूलाई आग्रह गरेका छन् । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उठेका प्रश्नको आइतबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले पाँच वर्षभित्र रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी, काठमाडौं–रक्सोल, पूर्वपश्चिम र उत्तर दक्षिण रेल चलाएर देखाउने दाबी गर्दै धैर्य गर्न आग्रह गरे । रेल चलाउने र पानीजहाज कुदाउने सपना आफूले राति निदाएका बेलामा नभई दिउँसो ब्यूँझिएकै बेलामा देखेको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले सरकारले मुलुकलाई तीब्र आर्थिक विकासको बाटोमा लाने चाहनासहित नीति तथा कार्यक्रम ल्याएको भन्दै कार्यान्वयनमा विश्वस्त हुन आग्रह गरे ।
उनले विकासका लागि महत्वाकांक्षी कार्यक्रम स्वभाविक भएको भन्दै रामायणमा जस्तो घर र गल्ली सुनका बनाउने नभनेकाले शंका गर्नुको अर्थ नरहेको बताए । प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको र वैदेशिक लगानी बढाउन आवश्यक नीतिगत सुधार गर्ने प्रतिबद्धता समेत जनाए ।
उनले सरकार दुई छिमेकी मुलुक भारत र चीनसँग कार्ड खेल्ने पक्षमा नरहेको स्पष्ट पार्दै मुलुकको आवश्यकता र प्राथमिकताका आधारमा सहयोग र ऋण लिने बताए । प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विगतमा बालुवा भित्रिए जसरी सुन भित्रिएको भन्दै अब सबै नाकामा कडाइ गर्ने तथा तस्करी र भ्रष्टाचारमा संलग्नलाई सुन तस्करी काण्डका अभियुक्तलाई जसरी खोजीखोजी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा खिया लागेका कारण विगतमा खासगरी सम्पदाहरूको पुनर्निर्माण ठप्प जस्तै भएको भन्दै उनले अब धरहरा, रानीपोखरी, काष्ठमाण्डपलगायतका सम्पदाको पुनर्निर्माणले गति लिने दाबी गरे ।
यसैबीच संघीय संसद्बाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नमा पौने दुई घण्टा लामो जवाफ दिएपछि नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा ४३ पृष्ठ लामो १ सय ३ बुँदे नीति तथा कार्यक्रम पेश गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्