सहकारीमा साढे ६४ लाख सर्वसाधारण

सहकारीमा आबद्ध हुने सर्वसाधारणको संख्या साढे ६४ लाख पुगेको छ । सहकारीेको संख्यात्मक वृद्धि र यसप्रति सर्वसाधारणको आकर्षणसँगै सदस्यको संख्या पनि वृद्धि भएको हो ।
सरकारले आइतबार प्रकाशित गरेको आर्थिक वर्ष ०७४/०७५ को आर्थिक सर्वेक्षणमा देशभर दर्ता भएका ३४ हजार ५ सय १२ सहकारी संस्थामा सदस्यको संख्या ६४ लाख ५१ हजार पुगेको छ । सहकारी संस्थामा ७६ अर्ब ९ करोड सेयर पुँजी, ३ खर्ब ११ अर्ब बचत र २ खर्ब ७३ अर्ब ऋण लगानी गरेको सर्वेक्षणमा उल्लेख छ । यसैगरी सहकारी संस्थाबाट ६१ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।
सजिलो दर्ता र सञ्चालन प्रक्रियाका कारण पछिल्लो समयमा सहकारीको संख्या ह्वात्तै बढेको हो । यसैगरी संविधानमा नै सहकारीलाई आर्थिक आधार स्तम्भ उल्लेख गरी सरकारले प्राथमिकतामा राखेपछि बचत ऋण, कृषि, स्वास्थ्य, शिक्षा, विद्युत्लगायतका काम सहकारीमार्फत हुन थालेको छ ।
तर, सहरी क्षेत्रमा वित्तीय कारोबारका लागि अधिक बचत तथा ऋण सहकारी खोल्ने प्रवृत्तिका कारण एकै व्यक्ति धेरै सहकारीमा दोहोरिएका छन् । ऋणलगायतका सुविधा लिनका लागि धेरै वटा सहकारीमा सदस्य बन्ने प्रवृत्ति रहेको छ । दोहोरो सदस्यका कारण पनि सहकारीमा सदस्यको संख्या अधिक देखिएको हो ।
काठमाडौं उपत्यकालगायतका सहरी क्षेत्रहरुमा सहकारीहरु धेरै भएकाले एउटै व्यक्तिले धेरैवटा सहकारीमा सदस्य बनी कारोबार गर्ने गरेका छन् । विशेषत सहरी क्षेत्रमा व्यापारीहरु ऋण लिनकै लागि धेरै सहकारीमा सदस्य बन्ने गरेको सहकारीका सञ्चालकहरुको भनाइ छ ।
समस्याग्रस्त सहकारीहरुको बारेमा अध्ययन गर्न गठित भएको जाचबुँझ आयोगले पनि एकै व्यक्ति धेरैवटा सहकारीमा कारोबार गर्दा विकृति बढेको प्रतिवेदन सरकारलाई दिएको थियो । दुई वर्ष अगाडि बुझाएको प्रतिवेदनमा १३५ समस्याग्रस्त सहकारीमा सर्वसाधारणको १० अर्व रुपैयाँ फसेको र अर्बौं जोखिममा रहेको उल्लेख गर्दै सहकारीलाई तत्काल व्यवस्थित गर्न सुझाव दिएको थियो ।