२० वर्षे गुरुयोजना सार्वजनिक «

२० वर्षे गुरुयोजना सार्वजनिक

प्रदेश नम्बर १ को पर्यटकीय गन्तव्यका रूपमा स्थापित मोरङको बेलबारीस्थित बेतना सिमसार क्षेत्रमा पर्यटकको चाप बढ्दै गएको छ ।
विशेषगरी सार्वजनिक बिदाका दिन बेतनामा पर्यटकको भीड लाग्ने गरेको छ । विराटनगरबाट करिब ४० किलोमिटरको दूरीमा अवस्थित बेतना सिमसारमा आन्तरिकका साथै भारतीय पर्यटकसमेत आउने गरेका छन् । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको सिमसार प्रचारप्रसार र सुविधा थप गरिएसँगै पर्यटकको चाप बढ्दै गएको बेतना सिमसार व्यवस्थापन समितिका अध्यक्ष डम्बर बस्नेतले बताए । “केही वर्षयता पर्यटकको चाप बढेको छ,” उनले भने, “भारतीय पर्यटकलाई थप आकर्षित गर्न सिमसारलाई व्यवस्थित गर्ने योजना अघि सारिएको छ ।”
प्रत्येक वर्ष सिमसारमा आउने पर्यटक वृद्धि भइरहेको छ । गतवर्ष २ लाख ३ हजार ५ सय पर्यटक सिमसार घुुम्न आएको समितिसित तथ्यांक छ । दैनिक ८ हजार ३ सय पर्यटक घुम्न आउने गरेका छन् । विगतमा दैनिक ४–५ हजार पर्यटक मात्रै आउँथे । अहिले आन्तरिक रूपमा पनि घुम्ने बानीको विकास हुँदै गएको छ । पर्यटकको चाप बढ्न थालेपछि समितिले विस्तारसँगै व्यवस्थित बनाउने तयारी थालेको छ । ४८ करोड रुपैयाँको लागतमा सिमसार व्यवस्थित गर्न लागेको अध्यक्ष बस्नेतको भनाइ थियो । बेतना सिमसार सामुुदायिक वनले २० वर्षे गुुरुयोजना सावर्जनिक गरी विस्तार गर्न लागेको हो ।
गुरुयोजनाअनुुसार चिडियाघर निर्माण, घडियाल प्रजनन् केन्द्र, आर्किड गार्डेन, हार्वोरियन तयारी व्यवस्थापन, पोखरी तथा चिल्ड्रेन पार्क, पिकनिक स्पोर्ट निर्माण गरिनेछ । त्यस्तै राजमार्गको दक्षिणतर्फ समेत सिमसार विस्तार गरी कछुुवा प्रजनन् केन्द्र, चरागुुँड निर्माण, क्यानल निर्माण, भूमिगत विद्युुत् तथा पानी व्यवस्थापनको कामलाई समेत अगाडि भएको छ । सिञ्चित बनाउन विभिन्न प्रजातिका वृक्षारोपण, भूक्षय नियन्त्रण, रिचार्ज पोखरी तथा संरक्षण पोखरी निर्माण, पानीको मुुहान साथै पुुरातात्विक सम्पदाको संरक्षणलाई योजनामा समेटिएको छ । २०७२ सालमा सामुुदायिक वनलाई सिमसार हस्तान्तरण गरिएको थियो । १ सय ७४ हेक्टर क्षेत्रफलमा फैलिएको सिमसार अहिले तीनवटा खण्डमा विभाजित छ । ७७ प्रतिशत भाग बाँझोपर्ती, झण्डै १३ प्रतिशत भाग हिलो दलदल र ९.४८ प्रतिशत भाग पानीले ढाकेको छ । सिमसार घुम्न आउने पर्यटकबाट गत वर्ष १ करोड ११ लाख रुपैयाँ संकलन भएको अध्यक्ष बस्नेतले जनाए ।
गुुरुयोजना सम्बन्धमा एकीकृत डिजाइन तथा इस्टिमेटमा समितिले छलफल अघि बढाएको छ । केन्द्र तथा प्रदेशको मन्त्रालय, सरोकारवाला सरकारी कार्यालय, सिमसार विज्ञ तथा स्थानीय तहका प्रमुुख र सर्वसाधारणहरूसँग समेत छलफल गरिरहेको बेलबारी नगरपालिकाका प्रमुुख ज्ञानेन्द्र सुवेदीले बताए । सिमसारलाई विस्तारसँगै व्यवस्थित गरी अन्तर्राष्ट्रियस्तरको पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नगरपालिका लागि पर्ने सुवेदीको भनाइ थियो । “अबको आर्थिक विकास पर्यटनबाटै हो, त्यसो भएकाले नगरपालिकाले बजेट छुट्याएर बेतना सिमसारलाई व्यवस्थित बनाउन लागिपर्नेछ,” प्रमुख सुवेदीले थपे, “एकपटक आएको पर्यटक पटक–पटक आउने वातावरण बनाउँछौं ।”
सिमसारमा ५८ प्रजातिका चरा, लोपोन्मुुख ४ प्रजातिका कछुुवा तथा १० प्रजातिका माछासमेत छन् । सिमसारमा पर्यटकको मनोरञ्जनका लागि तालमा डुुंगासमेत सञ्चालनमा ल्याइएको छ । हाल बेतनामा मिनि चिडियाखानासमेत सञ्चालनमा ल्याइएको छ । जहाँ लोपोन्मुख पशुपंक्षी राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्